रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका– १४ भालुकाप्चेमा वैकल्पिक सडक निर्माणको काम सुरु भएको छ । गत बर्ष भालुकाप्चेमा पहिरो खस्दा भिरालो भुगोलको कारण बाटो मर्मत गर्न समस्या भएको थियो । यो बर्ष बर्खामा पनि सहज आवत जावतको लागि सानीभेरी नदिको किनारा हुदै सडक निर्माण थालिएको हो ।

भौतिक पुर्वधार कार्यालय बुटवलले एक करोडमा सानीभेरी नदिको किनारमा ग्याविनवाल लगाउन सुरु गरेको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार एक करोडमा नदिले कटान गर्ने ठाउँमा ग्याविनवाल लगाउने र अन्य क्षेत्रमा पहुच मार्ग निर्माण गरिने छ । नदिले कटान गर्ने ठाउँमा ६६ मिटर ग्याविनवाल लगाइने छ । त्यस्तै तटबन्धन निर्माण र पुरानो बाटो सम्म पूग्नको लागि पहुचमार्ग निर्माण हुने अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

“नदिको बहाव आउने ठाउँमा बलियो ग्याविनवाल लगाइने छ । केहि ठाउँमा तटबन्ध पनि निर्माण गरिने छ । नदिमा पानीको बहाव बढे पनि थेक्ने खालको वाल निर्माणको काम भैरहेको छ ।”, पालिका अध्यक्ष रेग्मीले भन्नुभयो । सडक निर्माण भएसंगै सिस्ने गाउँपालिका वडा नं. १ र २ तथा पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं. ७, ८ र १४ का स्थानीयलाइ सहज हुने छ ।

गत वर्षको बर्खामा भालुकाप्चेमा माथिबाट पहिरो झर्दा स्थानीयलाई पालिका केन्द्र र सदरमुकाम रुकुमकोट सम्म पुग्न समस्या भएको थियो । पहिरो खसे पछि स्थानीयहरु डोरीको सहायताले जोखिमपूर्ण यात्रा गरेका थिए । अब सडक निर्माण भए पछि सहज हुने सिस्ने २ का टेकबहादुर खड्काले बताउनुभयो । अव माथिल्लो क्षेत्रमा दैनिक उपभोग्यका सामान ढुवानिमा सहज हुने स्थानीयको विश्वास छ ।

भालुकाप्चे भिरमा बाटो बनाउन सकिने अवस्था नभए पछि नदिको किनारा हुदै सडक निर्माण थालिएको सिस्ने २ का वडा अध्यक्ष कृष्ण खड्काले बताउनुभयो । गत बर्ष सिस्ने गाउँपालिकाको १२ लाखमा नदि किनारा सम्म पुग्ने सडक, काठेपुल र काठेपुल सम्म पुग्ने पहुचमार्ग निर्माण गरिएको थियो ।।