
लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले रुकुम पूर्वको नाम मात्र अर्गानिक जिल्लाको रुपमा स्थापित भएको बताउनुभएको छ । नाम अनुसारको काम नभएको उहाँले बताउनुभयो । मारिङ सहकारी संस्थाको आयोजनामा रुकुम पूर्वको पर्यटन विकास र पोखरासँगको सम्बन्ध विस्तार विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
रुकुम पूर्वलाई २०७७ असोज ३० मा लुम्बिनी प्रदेशको एक मात्र अर्गानिक जिल्लाको रुपमा घोषणा गरिएको थियो । ‘अर्गानिक जिल्ला घोषणा गरिएको लामो समय बितिसक्दा पनि यसको प्रतिफल भने शुन्य अवस्थामा रहेको छ ।’ सभामुख घर्तीले भन्नुभयो ‘रुकुम पूर्व अर्गानिक जिल्ला भनेर परिचय दिने गरेपनि पहिचान दिलाउने खालको व्यवस्था अझै नभएकाले रुकुम पूर्व अहिले नामको मात्र अर्गानिक जिल्ला भएको छ ।’ रुकुम पूर्वमा अर्गानिक र व्यवसायिक खेतीलाई विस्तार गर्ने भनेर धेरै छलफल र नीति तथा कार्यक्रम बनेता पनि त्यसको प्रभावकारी कार्यान्वयन गर्न नसक्दा अर्गानिक भन्ने नामले पहिचान दिन नसकेको सभामुख घर्तीको भनाई छ ।
अर्गानिक जिल्ला भनेर घोषणा गरिसकेको यस जिल्लामा सोहि अनुसारको नीति तथा कार्यक्रम बनेर कार्यान्वयनमा जान सके कृषि पर्यटनमार्फत यहाँको प्रचारप्रसार गर्न सकिने र त्यसबाट पनि यो जिल्लालाई समृद्ध बनाउन सकिने धारणा उहाँले राख्नुभएको थियो । कृषि पर्यटन मात्र नभएर यो जिल्ला प्राकृतिक हिसाबले पनि धनी भएको, युद्ध पर्यटनको विकास पनि गर्न सकिने र मध्य पहाडी लोकमार्गले पनि छोएको कारण सम्भावना धेरै भएको बताउदै उहाँले सोहिअनुसार योजना निर्माण र कार्यान्वयनमा जोड दिन आग्रह गर्नुभएको छ ।