रुकुम पूर्वको सिस्ने गाउँपालिकाले नीति कार्यक्रम तयार गर्नको लागि सरोकारवालाहरुबाट सुझाव संकलन गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिकको पूर्वसन्ध्यामा गाउँपालिकामा आज एक कार्यक्रमको आयोजना गरेर सरोकारवालाहरुबाट सुझाव संकलन गरेको हो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष लिलामणी गौतमले सुझाव संकलन कार्यक्रममा दिगो विकासलाई ख्यालमा राखेर र अरु स्थानीय तहको देखासिकी नगरेर नीति कार्यक्रम बनाउन सुझाव दिनुभएको छ । उहाँले यहाँको माटो सुहाउदो खाका तयार पार्न, १ र २ नम्बर वडालाई प्राथमिकतामा रखेर नीति ल्याउन र योजना बैंकको स्थापना गर्ने नीति ल्याउन सुझाव दिनुभएको छ ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कुमारी बरालले रुकुमकोटमा रहेको बसपार्कलाई व्यवस्थापन र सञ्चालनमा ल्याउने, सार्वजनिक कार्यक्रम गर्नको लागि सार्वजनिक रंगशाला निर्माण, खानेपानीको समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्ने खालको नीति ल्याउन सुझाव दिनुभएको छ ।

सुझाव संकलनको क्रममा उदय केसीले स्थानीय सरकारलाई जुन उदेश्यका साथ बजेट बिनियोजन गरिएको छ त्यसैमा खर्च तथा कार्यान्वयन गर्न अनुरोध गर्नुभएको छ । कार्यक्रम बनाइ लागु गरिसकेपछी त्यसबाट प्रतिफल के कस्तो छ भनेर मूल्याङ्कन गरेर मात्र अगाढी बढ्दा लाभ लिन सकिने र लगानीको सहि तरिकाले सदुपयोग हुने बताउनुभयो । उहाँले गाउँपालिकाले पोषणमा ‘एक घर एक करेसाबारी’ को नीति, श्रमदान सम्बन्धिको नीति ल्याउन सुझाउनुभएको छ । यस्तै बालबालिकाको सिकाइको लागि बालबालिकामैत्री वातावरण सिर्जना गर्न, एक विद्यालय एक करेसाबारीका नीति ल्याउन, श्रम बैंकको स्थापना गर्ने नीति ल्याएर कार्यान्वयन गर्न उहाँले कार्यक्रममा सुझाव दिनुभएको छ ।

यस्तै केशव विसीले सिस्ने गाउँपालिकाको गुरुयोजना अहिलेसम्म डल्लै रुपमा छ । यसलाई टुक्राएर कार्यान्वयन गर्न लायक बनाउने र कार्यान्वयनको प्रक्रियमामा लैजान सुझाव दिनुभएको छ । शुशिला शर्मा दाहालले हिंसा पिडित महिलालाई आयआर्जनमा जोड्ने खालको कार्यक्रम ल्याउन सुझाव दिनुभएको छ । गाउँपालिका भित्र रहेका सहकारीमा सक्रियलाई प्रोत्साहन र निष्क्रयलाई सक्रिय बनाउन विभिन्न क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्ने खालको नीति ल्याउन आग्रह गर्नुभएको छ ।

यस्तै युवा विशाल गिरीले   अनुत्पादक क्षेत्रमा भन्दा उत्पादनमुलक क्षेत्रमा नीति र बजेट केन्द्रित गर्न सुझाव दिनुभएको छ । गोबरधन बुढाले पर्यटन क्षेत्र विकासको लागि सरकार र नीजि क्षेत्रको सहकार्यमा काम गर्ने खालको नीति ल्याउन सुझाव दिनुभएको छ । अनुदान भन्दा ऋण प्रवाह नीति ल्याएर कृषकलाई व्यवसायमा निरन्तरता दिने व्यवस्था मिलाउन अनुरोध गर्नुभएको छ ।

यस्तै सुधन रेग्मीले खानेपानीको समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्न, बसपार्कलाई सञ्चालन गर्न, गाउँपालिकाले तयार पारेको गुरुयोजनालाई कार्यान्वयन गर्न, रुकुमकोटबाट उत्पन्न फोहोरलाई व्यवस्थापन गर्ने खालको नीति ल्याउन सुझाव दिनुभएको छ । यस्तै अम्म खत्रीले जिल्लाको एक मात्र क्याम्पस सिस्ने शिक्षा क्याम्पसको स्तरोन्नतीको लागी र अपागंमैत्री नीति बनाउनुपर्ने नीति गाउँपालिकाले लिनुपर्ने उहाँको सुझाव छ ।

सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले सुझाव संकलन कार्यक्रममा सबै सरोकारवालाहरुबाट आएका सुझावहरुलाई समेटेर आर्थिक वर्ष २०८२/८३ नीति कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभएको छ ।

सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउले, प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत रेवत बहादुर बुढाथोकी,  वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, राजनितिक दलका प्रमुख एवं प्रतिनिधिहरु, गाउँपालिकाका विषयगत शाखा प्रमुखहरु, सरकारी तथा गैर सरकारी संघ सस्था, सहकारीका प्रमुख एवं प्रतिनिधिहरु, सुरक्षाकर्मी, बाल क्लब लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजिकरण सिस्ने गाउँपालिकाका प्रशासन प्रमुख अरुण ओलीले गर्नुभएको थियो ।