रुकुम पूर्वको सिस्ने गाउँपालिकाले देउखोला-भालुखाप्चेको बाटो अनुगमन गरेको छ । योजना अनुगमन समितिका संयोजक एवं सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेको नेतृत्वमा जिल्ला समन्वय समितका प्रमुख मेघ बहादुर श्रेष्ठ, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, निमित्त जिल्ला समन्वय अधिकारी रबिन्द्र बुढाक्षेत्री र इन्जिनियर विकास गौतम लगाएतको टोलीले बाटो अनुगमन गरेको हो ।
पुथा उत्तरगंगा गाउँपालिका-१४ स्थित भालुखाप्चेमा गत साल पहिरोको कारण बाटो भत्किएर स्थानीयलाई आवतजावत गर्न पूर्ण रुपमा अवरोध भएपछी अहिले सिस्ने १ र २ लाई रुकुमकोटसँग जोड्नको लागि बाटो निर्माणको काम भइरहेको छ । अहिलेसम्म सडक संजालमा नजोडिएको सिस्ने १ र २ का नागरिकहरुलाई आवतजावत गर्न पहरामा काठ तेर्साएर बाटो बनाइएको थियो । त्यो बाटो गत सालको बर्खामा पहिरोले भत्काएपछी नागरिकहरु डोरीमा झुण्डिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए ।
त्यही बाटोलाई मर्मत गर्ने सम्भावना नभएको कारण गाउँपालिकाले पहिलेको बाटोभन्दा मुनिपट्टी उत्तरगंगा नदिको छेउबाटै अर्को बाटो निर्माणको कार्य थालेको थियो । अहिले पूर्वाधार कार्यालय वुटवलले छुट्याएको ५६ लाख बजेटका ग्याबिन वाल हाल्ने काम भइरहेको छ । पूर्वाधार कार्यालयले १ करोड बजेट बिनियोजन गरेपनि ४६% घटेर ५६ लाखमा ठेक्का सम्झौता भएको थियो । वैशाखमा टेन्डर भइ जेठको दोस्रो साताबाट रमण निर्माण सेवाले कामको थालनी गरेको थियो । ग्याबिन वाल लगाउने काम चलिरहेपनि चालु आर्थिक वर्ष भित्रैमा काम सकिने कुरामा भने शंका देखिएको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभएको छ । अनुगमन टोलीले निर्माण व्यवासायीलाई सम्झौता समयभित्रै गुणस्तरीय काम गर्न निर्देशन दिएको छ ।
सिस्ने गाउँपालिका अध्यक्ष रेग्मिका अनुसार यो क्षेत्रमा देउखोला-जामाबगर-त्रिवेणी जोड्ने सडकको लागि ग्रामिण पूर्वाधार कार्यक्रम(RCJP) ले २०७३/०७४ मै ३० करोड बजेट छुट्याएको थियो । शंकरमाली जेभीसँग ठेक्का सम्झौता पनि भइसकेको थियो । त्यो बेलामा २ वर्ष कोरोना भाइरसको कारण गरिएको लकडाउनले काम गर्न सकिएको थिएन भने बाकी ३ वर्ष उसले भौगोलिक कठिनाई (पहर फोड्न नसक्नु) र यलाइनमेन्ट परिवर्तण गर्न नमिल्ने कारण देखाएर काम गरेन । काम गर्ने समय भने सरकारले थपिराख्यो । गत साल शंकरमाली निर्माण सेवालाई नेपाल सरकारले नै बल्याक लिस्टमा राख्यो । यसमा पनि उसले मुद्दा लडेर अदालतबाट स्टे अर्डर ल्यायो तर सडक निर्माणको कामलाई भने अघि बढाएन् । देउखोला-जामाबगर सडकको लागि करोडौ बजेट बिनियोजन भएर आउदा पनि ठेकेदारको लापरबाहीले गर्दा फ्रिज भएर जाने गरेको गाउँपालिका अध्यक्ष रेग्मीले बताउनुभएको छ ।
ग्रामिण पूर्वाधार कार्यक्रम यसअघि संघिय सडक कार्यान्वयन एकाई मातहत थियो । अहिले प्रदेश सकड कार्यान्वयन एकाईमा आएको छ । अब भने यो क्षेत्रमा नयाँ एलाइनमेन्टसहित नयाँ ठेक्का प्रक्रियामा जाने र आर्थिक वर्ष २०८२/०८३ मा सडक निर्माणको काम अघि बढ्ने गाउँपालिका अध्यक्ष रेग्मीले बताउनुभएको छ । भालुखाप्चेको पुरानो बाटोमा डोरीमा झुण्डिएर वारपार गर्नुको विकल्प नभएपछी सिस्ने गाउँपालिकाले उत्तरगंगा नदिको किनारा हुँदै नयाँ बाटोको योजना अगाडी बढाएको छ । अब ग्रामिण पूर्वाधार कार्यक्रम मार्फत निर्माण हुने सडकलाई यसैमा जोडेर लैजादा सहज हुने भएको छ ।
सिस्ने १ र २ का नागरिकलाई सदरमुकाम समेत रहेको गाउँपालिकाको केन्द्र रुकुमकोटसँग जोड्नको लागि यो बाटो भन्दा अर्को विकल्प छैन् । यसका साथै यो बाटोले पुथा उत्तरगंगा गाउँपालिकाको ७, ८, ९ र १४ नम्बर वडाका नागरिकलाई पनि आवतजावतमा सहज हुने गर्दछ ।
यसैगरी आजै सिस्ने गाउँपालिकाको ३ र ४ नम्बर वडालाई जोड्ने धाउने-पोखरा सडकखण्डको पनि अनुगमन गरिएको छ । स्थानीय पूर्वाधार कार्यक्रम (LISP) र गाउँपालिकाको साझेदारीमा धाउने र पोखराको बिचमा सडक ढलान, ग्याबिन वाल लगाउने र नाला निर्माणको काम भइरहेको छ । यो क्षेत्रमा ग्यालेक्सी निर्माण सेवाले १ करोड १ लाखमा ठेक्का पारेर काम गरिरहेको छ । स्थानीय पूर्वाधार कार्यक्रमले १ करोड ८८ लाख बजेट बिनियोजन गरेपनि ३९% घटेर १ करोड १ लाखमा ठेक्का सम्झौता भएको थियो ।
अनुगमनको क्रममा निर्माण सेवाले कमसल सामानहरु प्रयोग गरेको पाइएको छ । ठेकेदारलाई ती सामान हटाउन लगाएको र सम्झौता अनुसार क्वान्टेटी र क्वालीटीमा ध्यान दिएर काम गर्न निर्देशन गरेको अनुगमन समिति संयोजक एवं गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले बताउनुभएको छ । यहाँ पनि असार मसान्त भित्र काम सक्ने कुरामा शंका देखिएको बताउदै उहाँले तोकिएको समयमै काम सक्न ठेकेदारलाई निर्देशन दिनुभएको छ ।

