मनोनयन दर्ताको लागि गणतन्त्रका नायक, नेपाली कम्यूनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड भोली सोमबार रुकुम पूर्वमा आउन लाग्नुभएको छ । फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि ६ गते मनोनयन दर्ता हुन गइरहेको छ । आफ्नो उम्मेदवारी दर्ताका लागि प्रचण्ड भोली रुकुम पूर्वमा आउन लाग्नुभएको नेपाली कम्यूनिष्ट पार्टी रुकुम पूर्वले जानकारी दिएको छ ।
प्रचण्डलाई स्वागतको लागि तयारीमा जुटिराखेको नेपाली कम्यूनिष्ट पार्टी रुकुम पूर्वका इन्चार्ज तेज बहादुर ओलीले जानकारी दिनुभएको छ । उहाँकाअनुसार प्रचण्ड सोमबार रुकुम पूर्वमा आउने र मंगलबार उम्मेदवारी दर्ता गरेर बुधबार काठमाडौं फर्कनुहुने छ । यो बिचमा पार्टीका नेता कार्यकर्तासँग विभिन्न कार्यक्रमको आयोजना पनि गरिने इन्चार्ज ओलीले जानकारी दिनुभयो ।
जनयुद्धको उद्धगमथलो रुकुम पूर्वबाट जनयुद्धको नेतृत्व गर्नुभएका शिर्ष नेता प्रचण्ड चुनावमा होमिदै गर्दा यस विषयलाई सबैतिरबाट चासोको रुपमा हेरिएको छ । पूर्व प्रधानमन्त्री रुकुम पूर्वबाट चुनाव लड्दा यहाँको विकासलाई लिएर रुक्मेली जनताहरु उत्साहित रहेको नेपाली कम्यूनिष्ट पार्टी रुकुम पूर्वले जानकारी दिएको छ ।

