मोहन बहादुर के.सि.

देश यतिबेला प्रतिनिधि सभा निर्वाचनमा होमिएको छ। यो नियमित निर्वाचन नभएर ‘अर्ली इलेक्सन’ नै हो। यस निर्वाचनले धरमराइरहेको संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानलाई सही बाटोमा ल्याउने महत्वपूर्ण कार्यभार बोकेको छ। २०८२ भाद्र २३–२४ को जेनेरेशन (जेन्जी) भनौँ या नवयुवाहरूको आन्दोलनद्वारा विस्थापित प्रतिनिधि सभा र तत्कालीन सरकार अपदस्थ भएपछि २०८२ फागुन २१ मा निर्वाचन सम्पन्न गर्ने गरी अन्तरिम सरकार अगाडि बढिरहेको छ।

भाद्र २३–२४ को घटनाक्रमले देश संकटमा परिरहेको बेला अन्तरिम सरकार निर्माण गरी संकट समाधान गर्न तत्कालीन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा हालका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, तत्कालीन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा हाल नेकपाका सह–संयोजक माधवकुमार नेपाल र राष्ट्रपति रामचन्द्र पौडेलको महत्वपूर्ण भूमिकाले संघीयता र संविधानको रक्षा भएको यथार्थतालाई सबैले उच्च मूल्याङ्कन गर्नुपर्छ। अहिले त्यसैको धरातलमा टेकेर देश चुनावी माहोलमा अगाडि बढिरहेको छ।

नवयुवाहरूको आन्दोलनले उठाएका एजेन्डा र मुद्दाहरूले सबै राजनीतिक दलहरूलाई गम्भीर समीक्षा गर्नुपर्ने स्थितिमा पुर्‍यायो। त्यसको गम्भीर समीक्षा गर्दै नेतृत्व तहबाटै आफूबाट भएका गल्ती–कमजोरीहरूको आत्मसमीक्षा (Realize) गर्दै सच्याउँदै, सुशासन लगायत विगतदेखि उठाउँदै आएका एजेन्डा तथा नवयुवाका एजेन्डाहरूलाई आत्मसात गर्दै समाजवादी बाटोमा अगाडि बढ्ने संकल्पका साथ नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी लगायत २०–२२ वटा पार्टी तथा समूहको एकताबाट मार्क्सवाद–लेनिनवाद मार्गदर्शक सिद्धान्त र समाजवादी कार्यदिशा भएको एउटा बृहद् वामपन्थी पार्टी नेपाली कम्युनिस्ट पार्टी निर्माण भएको छ। नेपालको कम्युनिस्ट आन्दोलनमा यो अत्यन्त महत्वपूर्ण र ऐतिहासिक कार्य हो।

यस्तो ऐतिहासिक कार्य सम्पन्न गरेको नेकपा चुनाव चिन्ह पाँचकुने तारा लिएर चुनावी मैदानमा होमिएको छ। यसपालिको प्रतिनिधि सभाको निर्वाचनमा रुकुम पूर्वी भागबाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवारको रूपमा खडा हुँदा देशी–विदेशीहरूको ध्यान रुकुम पूर्वतिर तानिएको छ।

विपक्षीहरूले सामाजिक सञ्जाल तथा अन्य सञ्चार माध्यमहरूमा केही कपोलकल्पित आरोप र नकारात्मक टिप्पणी गरेको देखिएको छ, जस्तै—अन्यत्र चुनाव जित्ने आधार नदेखेर रुकुम पूर्व आएको, ‘टुरिस्ट उम्मेदवार’, रुकुम पूर्वका नेताहरूको आपसी विवादका कारण प्रचण्ड नै आउनुपरेको आदि। यी र यस्ता निराधार नकारात्मक टिप्पणीहरूबारे म के भन्न चाहन्छु भने पहिलो टिप्पणीलाई आधार मान्ने हो भने अन्य उम्मेदवारहरूको रुकुम पूर्वमा जित्ने कुनै आधार छैन भन्ने स्वीकारोक्ति नै हो।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बाहिरबाट आएको, जिल्ला बासी नभएको भन्दै ‘टुरिस्ट’ भन्ने गैरराजनीतिक ढंगले वामपन्थी वा गैरवामपन्थी कोणबाट नकारात्मक टिप्पणी आइरहेका छन्। यसबारेमा के स्पष्ट हुनुपर्छ भने नेपालको संवैधानिक व्यवस्थाले प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न कुनै भौगोलिक सीमाले रोक्दैन। आन्दोलनको अगुवाइ जहाँबाट भए पनि गर्न सकिन्छ। समाजवादको आधार निर्माणको सुरुवात रुकुम पूर्वबाट गर्न तथा त्यसको नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रचण्ड रुकुम पूर्व आउनुभएको हो।

प्रचण्ड खाली एकथान सांसद जित्नका लागि मात्र आउनुभएको होइन। विश्वको समाजवादी आन्दोलनलाई हेर्ने हो भने कम्युनिस्टहरू अन्तर्राष्ट्रियवादी हुन्छन्, जसको लक्ष्य जनवाद, समाजवाद र साम्यवाद हुन्छ। यस्तो लक्ष्य बोकेका आफूलाई कम्युनिस्ट भन्न रुचाउनेहरूले भौगोलिक आधारमा कुरा गर्नु कम्युनिस्ट विचारप्रतिको स्खलित मनोविज्ञान हो।

उहाँहरूलाई थाहा हुनुपर्ने कुरा के हो भने चे ग्वेभारा अर्जेन्टिनामा जन्मिएर क्युबाको समाजवादी व्यवस्था स्थापना गर्न फिडेल क्यास्ट्रोसँग मिलेर महत्वपूर्ण भूमिका खेले। उनले सामाजिक न्याय र समानताका लागि संघर्ष गरेका थिए। चे विश्वभर समानताको पक्षमा लड्ने विद्रोह र क्रान्तिका प्रतीकका रूपमा चिनिन्छन्। त्यसैगरी, भौगोलिक आधारमै नेतृत्व हुने भए भारतीय स्वतन्त्रता संग्रामका नेता महात्मा गाँधी गुजरातमा जन्मिएर सिंगो भारत छोडो आन्दोलनको अगुवाइ गर्नुहुन्थ्यो; त्यहाँ कतै भौगोलिकता वा ‘पर्यटक’को कुरा उठेन। सबैलाई जहाँसुकै गएर संगठित हुन र आन्दोलनको नेतृत्व गर्ने अधिकार हुन्छ।

त्यसैले प्रचण्डले गणतन्त्र स्थापनाको आन्दोलनको सुरुवात पनि रुकुम–रोल्पाबाटै गर्नुभएको थियो, र समाजवादको आधार निर्माण गर्ने अभियानको सुरुवात पनि रुकुम पूर्वबाटै गर्ने अठोटका साथ रुकुम आउनुभएको हो। सामाजिक सञ्जाल तथा अन्य ठाउँमा उठाइएका सबै प्रकारका नकारात्मक टिप्पणीहरू सर्वथा गलत छन्। गणतन्त्र स्थापनामा प्रचण्डको भूमिका निर्णायक र प्रभावकारी मानिन्छ।

पात्र जोसुकै भए पनि नेपाली कम्युनिस्ट पार्टीले पार्टीको चुनाव चिन्ह पाँचकुने तारा लिएर पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उम्मेदवार बनाएर पठाएको छ। पार्टीको सर्वोच्च नेता वा अध्यक्ष आफैँमा एउटा संस्था हो। उसका लागि प्रतिनिधि सभाका प्रत्यक्षतर्फका १६५ वटै क्षेत्र बराबर हुन्छन्। संस्थाको प्रमुख कुनै निर्वाचन क्षेत्रमा आफै उम्मेदवार बन्छन् भने कुनै क्षेत्रमा आफ्नो प्रतिनिधि उम्मेदवार उठाउँछन्—यो राजनीति हो। मुख्य कुरा उसको एजेन्डा र व्यवहारमा निर्भर रहन्छ। यसरी विश्लेषण गरेर मात्र अमूल्य मतदान गर्नु आवश्यक छ।

संघीय लोकतन्त्रको संरक्षण, संवर्धन र विकास गर्दै गणतन्त्रको रक्षा गर्दै समाजवादी यात्राको स्पष्ट कार्यदिशा भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) देशभर तारामय बन्दै चुनावी मोर्चामा अग्रपङ्क्तिमा उदाइरहेको छ। त्यसकारण आफ्नो अमूल्य मत पाँचकुने तारामा मतदान गरी देशको समृद्धिको यात्रामा योगदान गर्नुहोस्।

धन्यवाद।