रुकुम(पूर्व) मा कृषि गणना कार्यालय स्थापना गरिएको छ । शुक्रबार जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ कमलदह नजिकै कृषि गणना कार्यालयको स्थापना गरिएको हो । “कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार” भन्ने नाराका साथ केन्द्रीय तथ्यांक विभागले आगामी वैशाखदेखि राष्ट्रिय कृषिगणना गर्न लागेको छ ।

अहिले राष्ट्रिय कृषि गणनाका लागि सुपरीवेक्षक र गणकको भर्ना गर्ने प्रक्रिया चलिरहेको छ । सुपरीवेक्षक र गणकका लागी चैत ७ गते भित्र अनलाइन फर्म भरिसक्नुपर्ने र नेटको पहुँच भन्दा बाहिर रहेकाहरुलाई आवश्यक कागजात सहित जिल्ला कृषि गणना कार्यालयमा सम्पर्क गर्नुपर्ने कृषि गणना अधिकारी सत्तिसकुमार चौधरीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार कृषि गणनामा नेपालका प्रत्येक जिल्लाको कृषि संरचना, गतिविधि तथा कृषि उत्पादनसँग सम्बन्धीत विवरण संकलन गरिने छ । किसानले चलन गरेको जग्गाको आधार, जग्गाको उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, सिँचाइ, पशुपन्छी संख्या, कृषि औजारको उपयोग, कृषि कर्ममा संलग्न जनशक्ति, कृषिमा वातावरणीय प्रभाव जस्ता विषयमा तथ्यांक संकलन गरिने भएको छ ।

चैत्र २५ गतेदेखि बैशाख २ गतेसम्म गणक र सुपरिवेक्षकहरुलाई तालिम दिने र उनिहरुलाई ६ गतेबाट फील्डमा खटाउने कृषि गणना अधिकारी चौधरीले बताउनुभयो । कृषि गणना कार्यक्रममा देशभर एक हजार पाँच सय सुपरिवेक्षक, ७ जना प्रदेश कृषि गणना अधिकारी, ७० जना जिल्ला कृषि गणना अधिकारी, ७७ जना सहायक कृषि गणना अधिकारी एवम् अन्य कर्मचारी गरी ८ हजार कर्मचारी खटिने बताइएको छ ।