चन्द्र रसाइली


रुकुम (पूर्व) को भूमे गाउँपालिकामा स्टेम च्यालेन्ज प्रतियोगीता २०७८ सम्पन्न भएको छ । प्रतियोगितामा जनजागृती माध्यामिक विद्यालय भूमे ६ महतका सञ्जुकुमार बुढामगरले प्रथम स्थान हासिल गर्नुभएको छ । नेपाल राष्ट्रिय माध्यामिक विद्यालय भूमे ९ चुन्वाङका मंगर दमाई र हरि ओलीले दोस्रो, सिद्धचौर माध्यामिक विद्यालय लुकमका जुनकुमार पुन र धनकुमार पुनले तेस्रो स्थान हासिल गर्नुभएको छ । रुक्मिणी माध्यामिक विद्यालय सिस्ने ५ रुकुमकोटका अनुपम नेपाली र प्रवेश वस्नेतले सान्तवना स्थान हासिल गर्नुभएको छ ।

स्थान हासिल गर्ने प्रतियोगीलाई नगद जिन्सी सहित प्रमाण पत्र प्रदान गरिएको छ । प्रतियोगितामा जिल्लाका ८ वटा माध्यामिक विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए । प्रदेश सरकार शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालय, शिक्षा तथा सामाजिक विकास निर्देशनालय सामाजिक विकास डिभिजन कार्यालय दाङको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो । साइन्स, गणित, इन्जिनियरिङ, टेक्नोलोजीको संयोजन स्टेम हो । यसले विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षण सिकाईमा अब्बल बनाउछ । शिक्षाको स्वरुप पनि समयसँगै परिवर्तन गर्न आवश्यक देखिएकोले उक्त कार्यक्रम आयोजना गरिएको डिभिजन प्रमुख बेगम केसीले बताउनुभयो ।

भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकार शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालय, शिक्षा तथा सामाजिक विकास निर्देशनालय सामाजिक विकास डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख बेगम केसी, स्टेम संयोजक केश गिरी, विद्यालयका शिक्षक लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन डिभिजनका अधिकृत छैटौं निमकान्त आचार्यले गर्नुभएको थियो ।