रुकुम (पूर्व) मा सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल र माओबादी केन्द्र सिस्ने गाउँपालिका इन्चार्ज तथा प्रदेश समिति सदस्य कृष्ण रेग्मीले मन्दिर उद्धघाटन गर्नुभएको छ । बराल र रेग्मीले गाउँपालिकाको ६ नम्बर वडा स्थित द्धारेचौरमा निर्माण गरिएको सिद्ध मन्दिरको शनिबार रिवन काटेर उद्धघाटन गर्नुभएको हो ।

मन्दिर उद्धघाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बरालले धर्म संस्कृतिले सवैलाई एकतामा बाध्ने बताउनुभयो । धर्मले नै मान्छेलाई सदमार्गमा हिडन सिकाउने भनाई उहाँको छ । धर्म निरपेक्ष राज्यमा सवै धर्म सस्कृतिको संरक्षण गर्न आवश्यक छ । सिद्ध मन्दिर निर्माण गर्ने स्थानिय र सहयोग गर्ने वडापालिकालाई उहाँले धन्यवाद समेत दिनुभएको छ ।

यस्तै माओबादी केन्द्रका पालिका इन्चार्ज रेग्मीले हरेक मानिसलाई सकरात्मक काममा प्रेरित र नकरात्मक कार्यबाट पन्छिन धर्मले महत्वपुर्ण काम गर्ने भएकाले विकास निर्माणसंगै मठ मन्दिरको संरक्षण गरिनु पर्नेमा जोड दिनुभयो । पालिकामा रहेका सवै धर्म संस्कृतिको संरक्षण र विकास गर्न सके पर्यटन प्रवद्र्धनका लागि पनि टेवा पुग्ने रेग्मीले बताउनुभयो ।

दुई आर्थिक वर्षको बजेटबाट मन्दिर निर्माण गरिएको मन्दिर संरक्षण एवम् निर्माण उपभोक्ता समितिका अध्यक्ष धनबहादुर बुढा मगरले बताउनुभयो । आर्थिक वर्ष २०७७÷७८ को एक लाख बजेटबाट निर्माण कार्य सुरु गरि चालु आर्थिक वर्ष २०७८÷७९ मा मन्दिर निर्माणलाई पुर्णता दिइएको उहाँको भनाई छ ।

उक्त ठाउँमा पहिले स्थानियले ढुंगाको छाना भएको एक तले मन्दिर बनाएका थिए । खुल्ला क्षेत्र र संरक्षण अभावका कारण मन्दिर जीर्ण बनेको थियो । स्थानियको माग र वडापालिकाको बजेटबाट जीर्ण मन्दिरलाई पुनः निर्माण गरि नयाँ स्वरुप दिइएको छ । अहिले सिमिन्टेट दुई तलाको मन्दिर निर्माण गरि जस्ता पाताको छाना राखिएको निर्माण समितिका सचिव राजेन्द्र बुढा मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्दिरको भित्ता, झयाल ढोका रङरोगनका साथै मन्दिर संरक्षणका लागि वरपरको क्षेत्रमा फलामे पोल र जालीले घेरबार समेत गरिएको छ । उक्त ममन्दिरमा पुजा गर्नाले मनले आटेको पुग्ने जनविश्वास रहि आएको स्थानियले बताएका छन । स्थानियको माग अनुसार स्थानिय सरकारले मन्दिर निर्माण भएपछि द्धारेका स्थानिय खुसी भएका छन ।