
कर्मसई घर्ती मगर
कास्की जिल्लामा दर्ता भई दर्जनौं जिल्लामा आफ्नो काम विस्तार गरेको कर्मफ्लाइट्स फाउन्डेसन मार्फत पुथा हिमालय मावि मैकोट रुकुम (पूर्वी भाग) मा यो शैक्षिकसत्रको छात्रवृत्ति वितरण गरेको छ ।
विगत ८ वर्षदेखि पुथा हिमालय मावि मैकोटमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई कर्मफ्लाइट्सद्वारा छात्रवृत्ति प्रदान गरिँदै आइएको छ । गत जेठ ३० गतेका दिन विद्यालयका विभिन्न कक्षामा अध्ययनरत १६ जना विद्यार्थीलाई फाउन्डेसनका कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवरको उपस्थितिमा करिब १० हजारका दरले शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियोे । थप दुई जना विद्यार्थीलाई ८ हजारका दरले शैक्षिक सामग्री वितरण गरिएको थियोे ।
आफन्तजन छात्रवृत्तिले गरिब तथा जेहेन्दार विद्यार्थीको पठन अभियानमा महत्त्वपूर्ण टेवा दिएको कुरा विव्यस अध्यक्ष विष्णु पुनले बताएका थिए । उनले आगामी दिनमा पनि यस संस्थाको साथ र सहयोग रहिरहने अपेक्षा गरेको बताउनुभयो ।
सन २०१८ देखि संस्थाले करिब ४० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिसकेको छ । जस मध्ये धेरै जनाले प्लस टू गरिसकेका छन् । संस्थाले विद्यार्थीलाई बाह्र कक्षासम्म पढाउँदै आएको कुरा कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवरले बताएका छन् ।
पुथा माविमा कर्मफ्लाइट्स फाउन्डेसनले करिब एक लाख पचास हजार बराबरको पुस्तक हस्तान्तरण गरेर आफ्नो शुरुवाती पाइला टेकेको थियो । संस्था मार्फत विद्यालयलाई हालसम्म पुस्तकालयको लागि पुस्तक, एक विद्यार्थी बराबर एक न्यानो ज्याकेट, प्रत्येक विद्यार्थीलाई कापी कलम, कोरोनाकालमा मास्क, महिनावारी प्याड, सेनिटाइजर र टेलिस्कोप वितरण गरिसकेको छ ।