आसन्न स्थानीय तहको निर्वाचनका लागि रुकुम पूर्वमा साढे ३३ हजार मतदाता कायम भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामालीमा ३३ हजार ५ सय १८ जना मतदाता कायम भएका छन् । जसमा महिला मतदाताको संख्या १६ हजार ६ सय २४ छ भने पुरुष मतदाताको संख्या १६ हजार ८ सय ९४ रहेको छ । ३१ वडा रहेको जिल्लामा ३५ मतदान स्थल छन् भने ४९ मतदान केन्द्र कायम गरिएको छ ।

जिल्लाको भूमे गाउँपालिकामा सबभन्दा बढी मतदाता छन् । भूमेमा ११ हजार ३ सय ५२ मतदाता छन् । ९ वडा रहेको यहाँ ९ मतदान स्थल र १५ मतदान केन्द्र रहेका छन् । यहाँ महिला मतदाताको संख्या ५ हजार ६ सय ३४ छ भने पुरुष मतदाताको संख्या ५ हजार ७ सय १८ छ ।

पुथाउत्तरगंगा गाउँपालिकामा ११ हजार २ सय ५३ मतदाता छन् । १४ वडा रहेको यस गाउँपालिकामा १५ मतदान स्थल र १९ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार महिला मतदाताको संख्या ५ हजार ५ सय २८ छ भने पुरुष मतदाताको संख्या ५ हजार ७ सय २५ रहेको छ । सबभन्दा कम मतदाता सिस्ने गाउँपालिकामा छन् ।

आसन्न स्थानीय तहको निर्वाचन प्रयोजनका लागि १० हजार ९ सय १३ जना मतदाताको नामावली सार्वजनिक भएको छ । ८ वडा रहेको यहाँ ११ मतदान स्थल र १५ मतदान केन्द्र कायम गरिएको छ । ५ हजार ४ सय ६२ महिला मतदाता रहेको सिस्ने गाउँपलिकामा ५ हजार ६ सय ३४ पुरुष मतदाता रहेका छन् ।