रुकुम(पूर्व) मा नेपाल जनजागरण मञ्चद्धारा सञ्चालित सामुदायिक रुपान्तरण परियोजनाको सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ । परियोजनाले सन २०२२ मा गरेको काम÷बजेटको सामाजिक लेखा परिक्षण गरेको हो । सन २०२२ को अवधिमा परियोजना सञ्चालनको लागि एक करोड ६५ लाख ८८ हजार रुपैयाँ बजेट बिनियोजन गरिएको थियो ।
जसमा कार्यक्रमतर्फ एक करोड २५ लाख २९ हजार ४ सय ७९ रुपैयाँ खर्च हुँदा प्रशासनिक खर्च ३१ लाख ३२ हजार ३ सय ६९ रुपैयाँ रहेको छ । सन् २०२२ को अवधिका कुल बजेटको ९४.४१ प्रतिशत अर्थात एक करोड ५६ लाख ६१ हजार ८ सय ४९ रुपैयाँ बजेट खर्च भएको छ । युनाइटेड मिसन टु नेपाल रुकुम(पूर्व) क्लष्टरको आर्थिक सहयोगमा सञ्चालन भएको परियोजनाले जिल्लामा स्वास्थ्य, पोषण, मानसिक स्वास्थ्य तथा सरसफाई, दिगो जिविकोपार्जन, सुशासन तथा पैरवी, शिक्षा, लैगिक समानता तथा समावेशिकरण र विपद जोखिम व्यवस्थापन, उर्जा र जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएको छ ।
सामाजिक लेखा परिक्षण कार्यक्रममा सन २०२२ को अवधिमा परियोजनमा मार्फत सञ्चालन भएका गतिविधि परियोजना संयोजक रविन्द्र कवंरले जानकारी गराउनुभएको थियो । कार्यक्रममा सहभागिहरुले परियोजनामार्फत राम्रो काम भएको बताउदै आगामी दिनमा पनि भएका कामलाई निरन्तरता दिन र केहि थप कार्यक्रमहरु सञ्चालन गर्न माग गरेका छन् । परियोजनाको क्षेत्राधिकार भित्र रहेर नागरिकबाट आएका मागलाई संबोधन गर्ने नेपाल जनजागरण मञ्चका कार्यकारी निर्देशक शम्भु विसीले प्रतिबद्धता जनाउनुभएको छ ।
सामाजिक लेखा परिक्षण कार्यक्रममा बोल्दै भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले गैरसरकारी संस्थाले सरकारको काममा इट्टा थप्ने काम गरेको बताउनुभएको छ । नेपाल जनजागरण मञ्चले राम्रो काम गरिरहेको बताउदै आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिन र कार्यक्रम सञ्चालन गर्दा स्थानीय सरकारसँगको समन्वयलाई जोड दिन आग्रह गर्नुभएको छ ।