रुकुम पूर्वमा पालिका स्तरीय मैत्रीपूर्ण प्रतियोगिताहरु सञ्चालन हुँदै छन् । यहि माघ १६ गतेबाट रुकुम पूर्वका ३ वटा गाउँपालिका सिस्ने, भूमे, पुथा उत्तरगंगा गाउँपालिका र रोल्पाको थबाङ गाउँपालिकाको कर्मचारीहरु बिचमा मैत्रिपूर्ण प्रतियोगिताहरु सञ्चालन हुन लागेका हुन् ।

यी ४ वटा पालिकाको कर्मचारी बिचमा ४ वटा विभिन्न खेलहरुमा प्रतिस्पर्धा हुने भएका छन् । भलिबल, फुटबल, ब्याडमिन्टन र क्रिकेट प्रतियोगिता सञ्चालन हुने सिस्ने गाउँपालिका योजना प्रशासन शाखा प्रमुख अरुण ओलीले जानकारी दिनुभएको छ । उहाँका अनुसार यही माघको १६ र १७ गते पहिलो खेलको रुपमा जिल्लाको भूमे गाउँपालिका ६ महतमा क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । यस्तै भलिबल सिस्ने गाउँपालिकाको रुकुमकोटमा यही माघको २१ गतेबाट सञ्चालन हुने छ ।

फुटबल प्रतियोगिता भने फागुनको महिनामा बिदाको समय मिलाएर पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरामा सञ्चालन हुने छ भने ब्याडमिन्टन प्रतियोगिता भने रोल्पाको थबाङ गाउँपालिकामा हुने भएको छ । यी प्रतियोगिताहरु जुन पालिकामा सञ्चालन हुनेछन् तीनै पालिका व्यवस्थापकको रुपमा रहने बताइएको छ ।