रुकुम पूर्व । रुकुम पूर्वमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ५ पुगेको छ । काठमाडौंबाट रुकुमकोटका लागि छुटेको ग १ ख ९१०९ नम्बरको बस विहिबार दिउसो जिल्लाको भूमे गाउँपालिका ३ क्याङसी बगरमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परि मृत्यु हुनेको संख्या ५ पुगेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार ३ जनाको घटनास्थलमै र २ जनाको जिल्ला अस्पताल रुकुमकोटमा मृत्यु भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेहरुमा रुकुम पूर्व सिस्ने गाउँपालिका ६ की ४० वर्षकी लक्ष्मी खड्का र उनका तीन वर्षका छोरा सिजन खड्का, रुकुम पूर्व भूमे गाउँपालिका ५ का २३ वर्षका बुद्धिमान बुढा, पुथा उत्तरगङ्गा गाउँपालिका ८ का ३५ वर्षका पूर्णबहादुर बुढा र बस चालक रामेछापका लीलाभक्त श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

चार घाइतेलाई नेपालगञ्ज लगियो
दुर्घटनामा परि १२ जना घाइते भएका थिए । गम्भिर चार घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ । सिस्ने ६ का ३२ वर्षका लालबहादुर खड्का, वर्ष ९ का साइमान खड्का, १९ वर्षकी निरुता थापा र रुकुम पश्चिम आठविसकोट नगरपालिका वर्ष ३५ का डम्बर नेपालीलाई हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ ।


अन्य घाइते हुनेहरुमा बाग्लुङ बर्तिबाङ नगरपालिका १ का १८ वर्षका सुनिल पौडेल, रुकुम पूर्व भूमे गाउँपालिका ५ की १९ वर्षिय सुवर्ण बुढा, २५ वर्षका खमेन्द्र पुन, भूमे गाउँपालिका ८ का ६१ वर्षका मोहन बुढा, सोहि गाउँपालिका ३ का ३२ वर्षका शक्ति पुन रहेका छन ।
यस्तै रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका ११ का २० वर्षका भरत बुढा मगर, रुकुम पश्चिम मुसिकोट नगरपालिका ११ भलाक्चाका २१ वर्षिय घमण्ड खड्का र गुल्मीको मुसिकोट नगरपालिका ८ का वर्ष २२ का किसान क्षत्री रहेका छन । घाइते सवैको रुकुम पूर्व अस्पताल रुकुमकोटमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार बस सडकबाट करिब  एक सय मिटर तल रुकुम गाड खाेलामा खसेको छ । बसको पछाडिको चक्का खाल्डोमा पर्दा अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यद्यपी दुर्घटनाको एकिन कारण भन्ने खुलेको छैन ।