रुकुम(पूर्व) मा ग्राभिटि गुड्स रुपवेले किसानलाई सहज भएको छ । जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ४ र ८ मा निर्माण भएको ग्राभिटी गुड्स रुपवेले ८ नम्बर वडाका किसानलाई सहज बनाएको हो । विगतमा एक डोको तरकारी बिक्री गरेर घर फर्कन एक दिनभरी लाग्ने गरेकोमा रुपवेको कारण अचेल किसानको आधा भन्दा बढी समय बचत हुने गरेको छ ।
अहिले भूमे गाउँपालिका ८ कुचिबाङका किसानले आफुले बारीमा उत्पादन गरेको तरकारी प्याक गरेर रुपवेमार्फत दुई मिनेटमा भूमे ४ को काँडा बगरमा पुर्याउछन् । जुन ठाउँबाट डोकोमा बोकेर काँडा बगरसम्म पुर्याउदा पहिले पैदल ३ देखी ४ घण्टा हिड्नुपरेको कुचिबाङका किसान धनबहादुर बुढाले बताउनुभयो । “सडक सुविधा छैन्, हाम्रो गाउँमा भर्खर ट्रयाक ओपन गरिएको छ”, उहाँले भन्नुभयो, “ट्रयाक ओपन गरिएको बाटोमा गाडी नजाने भएपछि हामीले बिहान ९ बजेतीर खाना खाएर एक डोको तरकारी बोकी पैदल खाबाङ, रुकुमकोट लगाएतका ठाउँमा जाने गथ्र्यौ ।” तरकारी बजार पुर्याएर फर्कदा बाटोमै झमक्कै रात पर्ने गरेको उहाँले सुनाउनुभयो ।
कुचिबाङकै अर्का किसान झलक रोकाले तरकारी प्रशस्त उत्पादन हुने सम्भावना रहदारहदै पनि बजार पुर्याउन कठिन हुने भएकाले त्यहाँका किसानले तरकारी खेती नगरेको बताउनुभयो । कुचिबाङका किसानलाई लक्षित गरेर रुपवे निर्माणको काम सुरु गरेपछि भने त्यहाँका किसानले तरकारी खेती गरेको र अहिले प्रशस्त मात्रामा तरकारी उत्पादन भएको रोकाले बताउनुभयो । “कुचिबाङमा बन्दा, काउली, मुला, काँक्रा प्रशस्त मात्रामा उत्पादन भएको छ”, उहाँले भन्नुभयो, “बारीबाट तरकारी टिपेर प्याक गरी रुपवेमार्फत अचेल दुई मिनेटमा काँडा बगर पुर्याउने गरेका छौ । ” काँडा बगरमा पुगेको तरकारी खाबाङ, रुकुमकोट लगाएतको ठाउँमा जाने गरेको उहाँको भनाई छ ।
उहाँहरु जस्तै भूमे ८ नम्बर वडाका कुचिबाङ, मैबाङ, झिम्का, हाडी लगाएतका ठाउँका २ सय ४२ घरधुरीका किसानलाई रुपवेले आफुले उत्पादन गरेको उपजलाई बजारसम्म पुर्याउन निकै राहत मिलेको त्यहाँका स्थानीयले बताएका छन् । यस्तै मावि कुचिबाङका लेखापाल डिल्ली बुढाक्षेत्रीले विगतका वर्षको बर्खाको समयमा दिवा खाजा कार्यक्रमको सामान बोकेर विद्यालयसम्म पुर्याउन मुस्किल हुने गरेको बताउदै यस वर्ष भने सजिलै रुपवेमार्फत आवश्यक सामान विद्यालयमा पुर्याएको बताउनुभयो ।
रुकुम(पूर्व) को भूमे गाउँपालिका ४ को काँडा बगर देखी भूमे ८ को कुचिबाङसम्म एक हजार एक सय ४४ मिटर लामो रुपवे निर्माण गरिएको छ । युके एडको आर्थिक सहयोग, विकास सरोकार समाज र प्राक्टिकल याक्सनको समन्वयमा ग्राभिटी गुड्स रुपवेको निर्माण गरिएको छ । यूके एडको ४३ लाख ३२ हजार ३ सय ९१ र बाकी श्रमदान गरी जम्मा ४८ लाख ६८ हजार ६ सय ४७ रुपैयाँ लागतमा रुपवे निर्माण गरिएको हो । गएको वर्ष माघ २३ मा सुरु भएको रुपवे निर्माणको काम गएको वैशाख २९ मा सम्पन्न भएको रुपवे नेपालका प्राविधिक शोभाकान्त काफ्लेले जानकारी दिनुभयो । यस रुपवेको औपचारिक उद्धघाटन भने भदौ ६ गते गरिएको छ । यो बिचमा रुपवे परिक्षण, रुपवे संचालनको लागि दुई जना अपरेटरलाई तालिम प्रदान गर्ने लगाएतको काम गरिएको उहाँले बताउनुभयो । उहाँकाअनुसार यस रुपवेको १५ वर्ष वारेन्टि छ ।
प्राक्टिकल एक्शन नेपाल समुन्ती परियोजनाका प्रमुख देवदत्त भट्टले लुम्बिनी प्रदेशमा निर्माण गरेको ग्राभिटी गुड्स रुपवे यो दोस्रो भएको बताउनुभयो । पहिलो रुपवे पाल्पामा निर्माण भएको छ । ० इनर्जिमा चल्ने रुपवे निर्माण गर्ने कार्य मात्र ठुलो नभई यसलाई निरन्तर रुपमा संचालन गर्नसक्नु नै ठुलो कुरा भएकाले यसको संचालनलाई निरन्तरता दिन यहाँको स्थानीय सरकार सँगसँगै किसानको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । अहिले रुपवेबाट सामान उकाल्दा र ओराल्दा प्रतिकिलोको दुई रुपैया लिने गरिएको छ । जसमा ७५ प्रतिशत अपरेटरलाई र २५ प्रतिशत रुपवेको मर्मतमा खर्च गर्ने गरि निर्णय गरिएको छ । यस रुपवेमा कुचिबाङबाट ९० किलो सामान काँडाबगर ओराल्दा काँडाबगरबाट ३० किलो सामान कुचिबाङ पुग्ने गरेको छ । सामान लोड गरी उकाल्दा र ओराल्दा काँडा बगर र कुचिबाङमा बस्ने अपरेटरले रुपवेको तारमा लठ्ठीले हान्ने गरेका छन् । एक पटक लठ्ठीले तारमा हान्दा रोक्ने र २ पटक हान्दा सामान पठाउने संकेत रहेको छ ।
रुपवे संचालनमा आएसँगै भूमे गाउँपालिकाले कुचिबाङलाई कृषि नमुना गाउँ बनाउने गरी योजना बनाइरहेको भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले बताउनुभयो । रुपवे संचालनको लागि काँडाबगरबाट बजारीय सामान ३० किलो माथी उकाल्दा अब कुचिबाङबासीले एक पटकमा ९० किलो उत्पादन काँडा बगर झार्न सक्ने की नसक्ने भन्ने चुनौती थपिएको भन्दै अध्यक्ष श्रेष्ठले त्यस चुनौतीलाई सामना गर्ने गरी कृषिमा काम गर्ने बताउनुभयो । साथै त्यहाँको उत्पादनलाई बजारिकणको लागी भूमेमै रहेको मारिङ बहुउदेश्यि सहकारी संस्था सँगै अन्य बजारमा सहकार्य गर्ने भूमे गाउँपालिकाले जनाएको छ । जिल्लामै पहिलो पटक रुपवे निर्माण भएपछि किसानहरु उत्साहित भएका छन् ।

