रुकुम(पूर्व) मा सकेट बम भेटिएपछि डिस्पोज गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिका–५ रुमालबारा स्थित नेपाल टेलिकमको टावर नजिकै भेटिएको सकेट बमलाई नेपाली सेनाद्धारा निष्क्रिय पारिएको हो ।
नेपाल टेलिकमको टावर भन्दा अन्दाजी १०० मिटर तलपट्टी रहेको जंगलमा बम फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रहरी निरीक्षक गनेश पाण्डेले जानकारी दिनुभयो । उहाँकाअनुसार सिस्ने गाउँपालिका ५ टाकुरा निवासी भूपू आर्मी चन्द्रबहादुर थापाले सोहि बाटो भएर हिड्ने क्रममा सोमबार बमजस्तो देखिने कुरा फेला पार्नुभएको थियो । उहाँले आज बिहान प्रहरीलाई खबर गर्नुभएको थियो ।
खबर पाएलगतै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । नेपाली सेनाले त्यहाँ भेटिएको वस्तु पुरानो सकेट बम नै रहेको प्रमाणित गरेको प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो । त्यो बम जनयुद्धकालमा राखेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

