
कर्मसही घर्ती
रूकुम पूर्व
जाडो महिनालाई मध्येनजर गर्दै गुल्मीका विद्यार्थीहरुलाइ न्यानो पोशाक वितरण गरिएको छ । गत माघ २१ गते सरस्वती पुजाका दिन पोखरास्थित कर्मफ्लाइट्स फाउन्डेसन नेपालमार्फत मुसिकोट नगरपालिका–२,मुसिकोट रातचौर, गुल्मीको गङ्गा प्राथमिक विद्यालयमा अध्ययनरत ६८ जना विद्यार्थीहरूलार्इ न्यानो पोशाक वितरण गरिएको छ ।
विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई जाडो महिनामा पनि पठन कार्यमा सहज होस् भनेर न्यानो पोशाक वितरण गरिएको कुराले आफु निकै खुसी रहेको बताउँदै प्रमुख अतिथि मुसिकोट नगरपालिका वडा नं २ का वडाध्यक्ष रविन्द्र के.सीले गङ्गा प्राथमिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरूको लागि कर्मफ्लाइट्स फाउन्डेसन नेपाल कास्कीले महत्वपूर्ण काम गरेको र यस कार्यले विद्यार्थीमा निकै उत्साह र उर्जा थपिएको बताए ।
विद्यालयका प्रधानाध्यापक कौरव बहादुर खत्रीले न्यानो पोशाकको लागि आर्थिक सहयोग गरेकोमा कर्मफ्लाइट्स फाउन्डेसन नेपाल कास्कीप्रति विद्यालय परिवार आभारी रहेको बताएका थिए । उनले विद्यार्थीलाई पोशाकको सम्मान गर्न आग्रह गर्दै आफ्नो पढाइलाई अझ उचाइमा पु¥याउन अनुरोध गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बहादुर खत्रीले विद्यालयलाई सम्झेर यहाँ अध्ययनरत विद्यार्थीहरुलाई पोशाकको लागि आर्थिक सहयोग गरिदिने संस्था कर्मफ्लाइट्स फाउन्डेसन नेपाल कास्कीलाई धन्यवाद दिए ।
कार्यक्रममा विद्यालयका अक्षयकोषदाता लेखनाथ भट्टराई, शिक्षक अभिभावक सङ्घका अध्यक्ष गोपाल बहादुर खत्री, विद्यालय व्यवस्थापन समितिका सदस्य फति कुमारी सारु, रविलाल कुमाल,कल्पना राना, झरुवा बाल विकास केन्द्रकी अध्यक्ष विजुला राना, शिक्षक अभिभावक सङ्घका सदस्य कमला राना, मुना राना,समाजसेवी सुशील पन्थी लगायत शिक्षक अभिभावकको उपस्थिति रहेको थियो ।
कर्मफ्लाइट्स फाउण्डेशन नेपाल बाग्लुङ जिल्ला संयोजक झम बहादुर कुँवरले गङ्गा प्राथमिक विद्यालयमा आएर सहयोग गर्न पाउँदा आफु निकै खुशी रहेको बताएका थिए ।कार्यक्रममा कर्मफ्लाइट्स फाउन्डेसन नेपाल बाग्लुङ जिल्ला संयोजक कुँवरलाई फुलमाला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बहादुर खत्रीको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक कौरव बहादुर खत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक सरस्वती चालिसेले गरेका थिए ।