
रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ४ साकिममा आज दुई जनाको हत्या भएको छ । भूमे गाउँपालिका ४ साकिमका ६० वर्षीय ढाटी बुढा र उनकै नाती ८ महिनाको समिर बुढाको खुकुरी प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
सोही ठाउँका ५१ वर्षीय चन्द्रसिङ पुनले बाजेनाती माथी खुकुरी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरिक्षक माधवरज खरेलले जानकारी दिनुभएको छ । हत्यारा भनिएका पुन हत्या गरिएका ती दुइजनाको १० मिटरको दुरीमा घर रहेका छिमेकी समेत रहेको बताइएको छ । दुइ जनाको हत्यापछि फरार रहेका पुनलाई खोजी गर्दा उनको पनि शव फेला परेको छ । पुनको शव खुलखुले खोलामा टाउकोमा धारिलो चोट लागेको अवस्थामा भेटिएको डिएसपी खरेलले बताउनुभयो ।
हत्या गरी भाग्ने क्रममा चिप्लीएर भिरबाट खस्दा उनको मत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । अहिले ३ जनाकै शवलाई पोष्टमार्टवको लागि रुकुम पूर्व अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले बताएको छ । हत्या के कारणले भएको हो भन्ने विषयमा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।