लुम्बिनी प्रदेशसभा सदस्य सारिका (सरिता) पुन मगरको निधन भएको छ ।

नेकपा एमाले रूकुम पूर्वबाट समानुपातिक सांसदमा निर्वाचित पुनको काठमाडौंमा उपचारकै क्रममा शनिबार निधन भएको नेकपा एमाले रुकुम पुर्वले जानकारी दिएको छ ।

उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गत मनमोहन सेन्टरमा आज शनिबार पुनको निधन भएको एमाले पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्व इन्चार्ज खेममान खड्काले बताउनुभएकोछ ।

रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिका तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौं लगिएको थियो । अस्पतालमा एकैपटक दुईवटा ठूलो शल्यक्रिया (मेजर अपरेशन) गरिएको थियो ।

पहिलो अपरेशनमार्फत उहाले छोरीलाई जन्म दिनुभएको थियो । दोस्रो अपरेशनमार्फत उहाको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो ।

पुन लुम्बिनी प्रदेशसभामा अर्थ पर्यटन विकास समिति सदस्य समेत हुनुहुन्थ्यो । उहाको बिहे गएको वर्ष रुकुम पश्चिममा भएको थियो ।