प्रतिनिधि सभा सदस्यको लागि आज भएको निर्वाचमा रुकुम पूर्वमा ५५.१८ प्रतिशत मत खसेको छ । कुल ३४ हजार ७ सय ७२ मतदाता रहेको यस जिल्लामा १९ हजार १ सय ८८ मतदाताले मत खसालेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत एवं सूचना अधिकारी इश्वरी प्रसाद सुवेदीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार मत खसाल्नेमा  पुरुष ९ हजार २४रहेका छन् भने महिला १० हजार १६३ रहेका छन् । ३ वटा मात्र पालिका रहेको यस जिल्लामा सिस्ने गाउँपालिकामा ६ हजार ७९०, भूमे गाउँपालिकामा ६ हजार २६७ र पुथा उत्तरगंगा गाउँपालिकामा ६ हजार १३१ मतदाताले मत खसालेका छन् ।

भौगोलिक विकटताका कारण पैदल हिडेर मतपेटिका ल्याउन १ देखी २ दिनसम्म लाग्ने ३ मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकप्टर मार्फत सदरमुकाम रुकुमकोटमा ल्याइएको छ । जिल्लाको सिस्ने गाउँपालिका -१ पाखापानी मतदान केन्द्र , पुथा उत्तरगंगा गाउँपालिका २ पेल्माको हिमाल आवि पेल्मा मतदान केन्द्र र सोही वडाको हार्दिबाङ मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टर मार्फत जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याइएको हो ।

नजिकका अन्य मतदान केन्द्रका मतपेटिकाहरु आउने क्रम जारी रहेको छ । मध्यरातसम्म सबै ठाउँको मतपेटिका आइसक्ने सहायक निर्वाचन अधिकृत एवं सुचना अधिकारी सुवेदिले जानकारी दिनुभएको छ ।  रुकुम पुर्वमा नेकपाका संयोजक एवं पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड सहित ११ जना उम्मेदवार चुनावी प्रतष्पर्धामा हुनुहुन्छ ।—