रुकुम पूर्व ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावको समिक्षा तथा पार्टी वैठकका लागि रुकुम पूर्व आइपुग्नुभएको छ ।

रुकुम पूर्वबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहनुभएका संयोजक प्रचण्डको उपस्थितिमा आज वैशाख १७ गतेदेखि रुकुमकोटमा जिल्लास्तरीय बैठक सुरु भएका छन् ।पार्टीका केन्द्रीय सदस्य केशव रावलले दिएको जानकारी अनुसार, आज बिहान १० बजे रुकुमकोट आइपुग्नुभएका प्रचण्डलाई स्थानीय नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए । स्वागतपश्चात् दिउँसो १२ बजेदेखि जिल्ला पार्टी कार्यालयमा जिल्ला समितिको विस्तारित बैठक सुरु भएको छ ।

राजनीतिक बैठक र पत्रकार सम्मेलन
प्रचण्डले आज र भोलि रुकुम पूर्वमा सक्रिय राजनीतिक भेटघाट गर्ने कार्यतालिका छ । आज दिनभर जिल्ला समितिको बैठकमा व्यस्त रहने र साँझ कर्मचारीहरु संग भेटघाट गर्ने कार्यक्रम रहेको छ। उहाँले भोलि वैशाख १८ गते बिहान ८ बजे  पत्रकार सम्मेलन गर्नुहुनेछ । त्यसलगत्तै बिहान ९ देखि ११ बजेसम्म पार्टी कार्यालयमा कार्यकर्ता तथा शुभेच्छुकसँग भेटघाट र दिउँसो १२ देखि ३ बजेसम्म सिस्ने गाउँपालिकाको सभाहलमा बैठकको बाँकी काम सम्पन्न गर्ने कार्यक्रम रहेको छ ।

थबाङमा प्रगतिशील सङ्गीत उत्सवको उद्घाटन
रुकुम पूर्वको कार्यक्रम समापन गरी संयोजक प्रचण्ड भोलि (वैशाख १८ गते) दिउँसो ३ बजे रोल्पाको ऐतिहासिक क्षेत्र थबाङ प्रस्थान गर्नुहुनेछ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको आयोजना र थबाङ गाउँपालिकाको मुख्य प्रायोजनमा हुन लागेको ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ को उहाँले वैशाख १९ गते उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।रोल्पा कला साहित्य प्रतिष्ठान सह-आयोजक रहेको उक्त उत्सव वैशाख १९ र २० गते दुई दिनसम्म चल्नेछ ।

जनयुद्धको उद्गमस्थल थबाङमा आयोजना हुन लागेको यस उत्सवलाई सांस्कृतिक क्रान्ति र प्रगतिशील चिन्तन प्रवर्द्धन गर्ने महत्त्वपूर्ण कडीको रूपमा हेरिएको छ ।पार्टी सुदृढीकरण र सांस्कृतिक अभियानलाई जोड्न प्रचण्डको यो रुकुम–रोल्पा भ्रमणलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।