गिता रोका
रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ८ भुरुङ्गामा रहेको एक विद्यालयमा आवश्यक संरचना नहुँदा पठनपाठनमा समस्या भएको छ । त्यहाँको आधारभुत प्राथामिक विद्यालयमा आवश्यक संरचना नहुदा पठनपाठनमा समस्या भएको हो ।
त्यस विद्यालयमा खानेपानी व्यवस्थित, शौचालय, कम्यूटर, डेस्कबेन्चको व्यवस्थापन नहुँदा समस्याह हुने गरेको विद्यार्थीहरुले बताएका छन् । विद्यालयमा पानी नियमित आउने गरेपनि धारा निर्माण नहुँदा समस्या भइरहेको विद्यालयका प्रधानाध्यापक मोहन पुनले बताउनुभयो । धारा व्यवस्थापनको लागि सिस्ने गाउँपालिकासँग माग गरेपनि एउटा ड्रमा मात्र उपलब्ध गराएको विद्यालयले बताएको छ ।
एक देखि कक्षा ८ सम्म पठनपाठन सञ्चालन भइरहेको उक्त विद्यालयमा विद्यार्थीको लागि दुई वटा कोठा अपुग भएको पनि विद्यालयले जनाएको छ । विद्यालयकाअनुसार तत्कालको समस्या समाधानको लागि त्यहाँ एउटा कोठालाई बिचमा पर्खाल लगाई दुई वटा बनाइएको छ । विद्यालयका आवश्यकतालाई पूर्ती गर्नको लागि गाउँपालिका र विभिन्न संघसंस्थासँग माग गरेपनि कतैबाट माग सुनुवाई नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिनुभयो ।
८ नम्बर वडाले भने कक्षाकोठा व्यवस्थापनको लागि एक लाख बजेट छुट्याएको छ । त्यती बजेटले विद्यालयको समस्या समाधान गर्न नसकिने व्यवस्थापन समितिका अध्यक्ष थापाले बताउनुभएको छ ।