रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको रुक्मिणी माध्यामिक विद्यालयमा ओजेटी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । आज कक्षा १२ मा प्राबिधिक धार बाली बिज्ञान तर्फ अध्ययनरत विद्यार्थीहरु लाई प्रयोगात्मक शिक्षाका लागि ६ महिनासम्म गरिने ओजेटीका लागि अभिमुखकिरण कार्यक्रम संचालन गरिएको हो ।

ओजेटी केहो, यो किन गरिन्छ ? यसमा विद्यालय र विद्यार्थी लगाएत शिक्षासँग सरोकार राख्ने बिभिन्न निकाय को भूमिका के कस्तो हुन्छ भन्ने विषयमा विद्यार्थीहरुलाई जानकारी गराईएको थियो । कार्यक्रमका बारेमा विद्यालयका प्राबिधिक धार संयोजक नबिन कुमार शर्माले गराउनु भएको थियो । अभिमुखीकरण कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय ईकाई रुकुम पूर्वका प्रमुख तिलक गौतमले ओजेटी पनि एउटा सिकाई तथा पढाईकै अंग भएका कारण व्यावहारिक ज्ञान तर्फ ध्यान दिन विद्यार्थीलाई आग्रह गर्नुभयो । कृषि तर्फ अध्ययन गरेका विद्यार्थीहरुको लागि सैद्धान्तिक शिक्षा भन्दा अझ बढि व्यवहारिक शिक्षा महत्वपुर्ण हुने भएकाले लगनशिल भएर यसतर्फ ध्यान दिनु पर्ने बताउनु भयो ।

यसैबिच सिस्ने गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिंह बुढाले विद्यालयमा सिकेको सैद्धान्तिक ज्ञानलाई फिल्डमा गएर प्रयोगात्मक ढंगबाट अगाडी बढ्नका लागि अनुरोध गर्नु भएको छ । विद्यालयका व्यवस्थापन समिति अध्यक्ष ओमप्रकाश थापाको अध्यक्षतामा संचालन गरिएको अभिमुखीकरण कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई रुकुम पूर्वका प्रमुख गौतम, सिस्ने गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिंह बुढा, विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर मल्ल लगाएत शिक्षक विद्यार्थीको उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालन कृषि ल्याब पर्सन उर्मिला गौतमले गर्नु भएको थियो ।
यस्तै शैक्षिक सत्र २०७९ मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत तथा सम्मान पनि गरिएको छ । आज विद्यालयमा यस वर्ष भर्ना भएका कक्षा नर्सरी देखी १० कक्षासम्मका १ सय ८० जना बिद्यार्थीलाई सम्मानका साथै शैक्षिक सामाग्री प्रदान गरिएको छ ।