माघ १९, रुकुम (पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर २ मा काठे पुल विस्थापीत हुँदै गएका छन् । २ नम्बर वडाले काठे पुललाई विस्थापित गर्दै झोलुङ्गे र ट्रस पुल निर्माणलाई बढवा दिएको छ । यस अघि वडाका सबै सानाठुला खोलामा काठे पुल र साँघु भेटिने गरेकोमा स्थानीय सरकार आएदेखि भने विस्तारै काठे पुल र साँघु हराउदै गएका छन् । अहिले २ नम्बर वडाले तीनै तहको स्थानीय सरकारकोे आर्थिक सहयोग तथा विभिन्न निकायहरुको प्राविधिक सहयोगमा अधिकांस खोलामा पुल निर्माणको काम सम्पन्न गरेको छ भने कतीपय ठाउँमा पुल निर्मानाधिन अवस्थामा रहेका छन् ।
भरपर्दो एवं सुरक्षित यात्राको लागि वडाले काठको पुललाई विस्थापित गरिराखेको वडाध्यक्ष जीवन केसीले बताउनुभयो । आफूहरूको कार्यकालमा मुख्य आवतजावत भइरहेको खोलामा रहेका काठका पुललाई विस्थापित गरिसक्ने वडाध्यक्ष केसीले दाबी गर्नुभयो । वडामा आफूहरू निर्वाचित भइसकेपछि ८ वटा काठका पुल विस्थापित गरी ५ वटा झोलुङ्गे, २ वटा ट्रस र एक आरसीसी गरी ८ वटा पुल निर्माणको काम सम्पन्न गरिसकेको वडाध्यक्ष केसीले बताउनुभयो । वडाध्यक्ष केसीकाअनुसार वडा नम्बर २ को भुतछहरा, मोराबाङ÷कोटाघारी, सल्लीबिसाउना, लामागाउँ, तुबाङ, छिपखोला, छिपतारा र तिपतारामा नयाँ पुल निर्माण गरिएको छ ।
अहिले थप ख्यापखोला, ठानाखोला, कोपेधारा–सक्मेरी र घोरनेटीमा झोलुङ्गे पुल बन्दै छन् । जसमध्येमा कोपेधारा–सक्मेरीमा झोलुङ्गे पुल निर्माणका लागि डीपीआर काम भइरहेको वडाध्यक्ष केसीको भनाइ छ । नयाँ ८ वटा पुल मध्ये तुबाङखोलामा मात्र पाँच वटा पुल निर्माण गरिएको छ । तुबाङखोलाको तल देखि माथिसम्म त्यस आसपास बस्ती भएकाले पाँच वटा पुल निर्माण गरिएको केसीले बताउनुभयो । अझै पनि वडामा नयाँ पुल निर्माणको आवश्यकता रहेको बताइएको छ । वडाका यी विभिन्न ठाउँमा पुल निर्माणको काम भएसँगै नागरिकको यात्रामा सहजता आएको छ ।