हिमपातका कारण रुकुम (पूर्व) खण्डमा पुनः मध्यपहाडी लोेकमार्ग अबरुद्ध भएको छ । बिहिबारदेखि निरन्तर हिमपात हुँदा मध्यपहाडी लोकमार्ग अबरुद्ध हुन पुगेको हो । लोकमार्गको लुकुम–पातीहाल्ना खण्डमा हिउँ जम्दा सडक अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी नायब उपरिक्षक गनेशबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार भूमे गाउँपालिका १ लुकुमभन्दा माथीको भाग पातीहाल्नासम्म अन्दाजी पाँच फीट हिउँ जमेको छ ।

बाटोमा हिउँ जमेपछि रुकुम (पूर्व) र रोल्पाबाट बागलुङ, पोखरा हुदैँ काठमान्डौ जाने तथा काठमान्डौबाट रुकुम (पूर्व) र रोल्पा आउने यात्रुहरु समस्यामा परेका छन् । रुकुम आउने यात्रुहरु बागलुङ क्षेत्रमा रोकिएका छन् भने पोखरा, काठमान्डौ जाने यात्रुहरु पनि रुकुमकोट र थबाङमै थुनीएर बसेका छन् । रुकुमकोट र थबाङबाट काठमान्डौ जान छोटो रुटको रुपमा प्रयोग हुने लोकमार्ग अबरुद्ध हुँदा यात्रुहरुलाई समस्या हुने गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी श्रेष्ठले बताउनुभयो ।

उहाँकाअनुसार गएको पौष १४ गते हिमपातकै कारण मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको थियो । पछि भूमे गाउँपालिकाको इन्धन सहयोगमा सिस्ने गाउँपालिकाको जेसिबी लगाइ पौष २१ मा बाटो पुनः सुचारु गरिएको थियो । माघ १ गतेसम्म लुकुम पातीहाल्ना खण्डमा फोरबिल गाडि मात्र सञ्चालनमा थिए । त्यसपछि भने सडकमा सुधार आएको थियो । १८ गतेबाट पुनः सडक अबरुद्ध भएको डिएसपी श्रेष्ठले बताउनुभयो ।

रुकुम (पूर्व) खण्डअन्तर्गत लुकुमदेखि पातीहाल्नासम्मको १७ किलोमिटर सडकमा जमेको हिउँ पन्छाउन केहि समय लाग्ने देखिएको छ । साता दिनपछि मात्र हिउँ पन्छाएर सडक सुचारु गर्न सकिने बताइएको छ ।