रुकुम (पूर्व) मा वर्षातको कारण कृषि क्षेत्रमा ठुलो राहत मिलेको छ । यस वर्ष पटकपटक भएको वर्षाको कारण कृषि उत्पादन बढ्ने भन्दै किसान खुसी भएका हुन् । जिल्लाको माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ भने तल्लो क्षेत्रमा हल्का हिमपातको साथमा वर्षा भएको छ । हिमपात र वर्षाको कारण खेतबारीमा लगाईको गहुँ, जौँ, तरकारी लगाएतको बालीमा राहत मिलेको किसानले बताएका छन् ।

जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाको अधिकांस क्षेत्रसँगै सिस्ने र भूमे गाउँपालिकाको माथिल्लो क्षेत्रमा भने बाक्लो हिउँ जमेको कारण तरकारीबालीमा क्षती पुगेको छ । गहुँ र जौँ बाली भने राम्रो हुने देखिएको छ । विगतका केहि वर्षयता खडेरी र रोग प्रकोपको कारण उत्पादनमा निकै गिरावट आएको बताउदै सिस्ने गाउँपालिका २ का राजन बुढाले यस वर्ष, गहुँ लगाएपछि पटकपटक वर्षा हुँदा गहुँ उत्पादनमा वृद्धि हुने आशा गरेको बताउनुभयो । यस अघिको वर्षमा यस बेलामा खडेरीका कारण बारीमा गहुँ ओइलाउने अवस्थामा पुग्ने गर्थे । यस वर्ष वर्षाको कारण सुख्खा डाडाँपाखाको बारीमा लगाइएको गहुँबाली पनि हराभरा भएको बुढाले बताउनुभयो ।

सधै आकाशे पानीको भरमा खेती गर्दै आएका किसानहरु हिमपात र वर्षापछि बाली सप्रने आसमा गदगद भएका छन् । वर्षासँगै जिल्लाका किसानहरु स्याउ र ओखरको बिरुवा लगाउन भन्दै खाडल खन्ने तयारीमा पनि लागेका छन् । एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम (पूर्व) ले पछिसम्म असिनाले क्षती गरेन भने किसानले लगाएको गहुँ, जौँ र तरकारी खेतीले राम्रो उत्पादन दिने बताएको छ ।