जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले मास्क वितरणको अभियान सुरु गरेको छ । प्रहरीले रुकुमकोटबाट अभियानको थालनी गरेको हो । बिहिबार प्रहरीले रुकुमकोटमा मास्क वितरण गरेको छ । बजार, बाटोमा मास्क नलगाएर हिड्ने सर्वसाधरणलाई मास्क वितरण गरेको हो । कोभिड १९ को तेस्रो लहर चलिरहदा त्यसको संक्रमणलाई नियन्त्रण गर्न प्रहरीले मास्क वितरण अभियान थालेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी नायव उपरिक्षक (डिएसपी) गनेशबहादुर श्रेष्ठले बताउनुभयो ।

जिल्लाभर नै मास्क वितरणको अभियान थाल्ने उहाँले बताउनुभएको छ । डिएसपी श्रेष्ठका अनुसार सदरमुकाम रुकुमकोटमा एक हजार मास्क वितरण गरिएको छ भने अन्य ठाउँमा प्रहरी यूनीटमार्फत मास्क वितरण गरिने छ । पछिल्लो समयमा मानिसहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न छोडेका छन् । कतीपय मानिसहरुले खोप लगाउन पनि मानिरहेका छैनन् । यस्तो अवस्थामा संक्रमणको जोखिम उच्च हुने भन्दै मास्क वितरण अभियान थालेको डिएसपी श्रेष्ठले बताउनुभयो ।

रुकुम (पूर्व) मा पनि कोभिड संक्रमणका बिरामीहरु छन् । मानिसहरुमा कोभिड पोजेटिभ देखिएपनि यसलाई सामान्य रुपमा लिने गरेका छन् । यस कारण पनि समुदायमा जोखिम झन बढेको छ । घर भन्दा बाहिर, मेला, सार्वजनिक स्थल सबै ठाउँमा जादा पनि मानिसहरुले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरेको पाइएको छ । यसले गर्दा कोरोनाको संक्रमण जोेखिम उच्च हुने भएकाले मास्क वितरण अभियान थालेको प्रहरीले जनाएको छ ।

कोभिड संक्रमण जोखिम अझै कायम रहेकाले सबैलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न डिएसपी श्रेष्ठले आग्रह गर्नुभएको छ ।