बिरप्रताप बुढा मगर


रुकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकामा अध्यक्ष कप २०७८ सम्पन्न भएको छ । पुथाउत्तरगंगा गाउँपालिका युवा विकास केन्द्रले गाउँपालिकाको आर्थिक सहयोगमा अध्यक्ष कपको आयोजना गरेको हो । माघ २६ गतेबाट सुरु भएको अध्यक्ष कप अन्तर्गत वडास्तरीय महिला, पुरुष भलिबल प्रतियोगिता, पुरुष फुटबल र खुला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरेको युवा विकास केन्द्रका अध्यक्ष टिकासाही घर्तीले जानकारी दिनुभयो ।

अध्यक्ष कप अन्तर्गत महिलातर्फको भलिबल प्रतियोगितामा पुथाउत्तरगंगा गाउँपालिका १० तकले प्रथम स्थान हासिल गरेको छ । उसले ५० हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै क्रमश पुथा ८ चारगाउँले दोस्रो र वडा नम्बर ११ सेराले तेस्रो स्थान हासिल गरेको छन् । उनिहरुलाई क्रमश ४० हजार र ३० हजारकोे साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको युवा विकास केन्द्रका अध्यक्ष घर्तीले बताउनुभयो ।

यस्तै पुरुषतर्फको भलिबल प्रतियोगितामा वडा नम्बर ८ चारगाउँले प्रथम स्थान हासिल गर्दै नगद ५० हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै २ नम्बर वडा पेल्माले दोस्रो स्थान हासिल गर्दै ४० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्दा वडा नम्बर ९ खाराबाँङले तेस्रो स्थान हासिल गर्दै ३० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

पुरुष फुटबल प्रतियोगितामा वडा नम्ब १ मैकोटले प्रथम स्थान हासिल गर्दै ५० हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । युवा विकास केन्द्रका अध्यक्ष घर्तीकाअनुसार वडा नम्बर ५ हुकामले दोस्रो स्थान हासिल गर्दै ४० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्दा गाउँपालिकाको कर्मचारी टिमले तेस्रो स्थान हासिल गर्दै ३० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै खुला ब्याडमिन्टन प्रतियोगितामा समीर गिरी र पहल बहादुर पुनको जोडीले प्रथम स्थान हासिल गर्दै नगद २० हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । निलम पुन र रुपेश पुनको जोडीले दोस्रो स्थान हासिल गर्दै १५ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्दा सेमीफाइनलमा पुग्ने नवराज खडका र शिवप्रकाश डाँगी तथा भिमप्रकाश केसी र खडकबहादुर बुढामगरको जोडीलाई पाँच हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

वडास्तरीय फुटबल प्रतियोगितामा १५ टीम, पुरुष भलिबलमा २० टीम, महिला भलिबलमा ११ टीम र खुला ब्याडमिन्टन प्रतियोगितामा जम्मा २२ जोडीले प्रतिस्पर्धा गरेका थिए । माघ २६ गतेबाट सुरु भएको अध्यक्ष कप २०७८ फागुन ४ गते सकिएको हो ।