
राष्ट्रिय सूचना आयोगका आयुक्त रन्तप्रसाद मैनालीले सार्वजनिक निकायलाई सहज रुपमा सूचना प्रवाह गर्न आग्रह गर्नुभएको छ । सूचना आयोगले नै जिल्ला सदरमुकाम रुकुमकोटमा आयोजना गरेको सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै आयुक्त मैनालीले सार्वजनिक निकायलाई सूचना प्रवाह सहज रुपमा गर्न र सूचना लिनेहरुलाई पनि आफुले पाएको सूचनाको सहि सदुपयोग गर्न आग्रह गर्नुभएको हो ।
सार्वजनिक निकायहरुले पनी नागरिकलाई दिन मिल्ने खालका सूचनाहरु के के हुन् भनी छुट्याउनुका साथै अभिलेखीकरण गरी राख्नुपर्ने उहाँले बताउनुभयो । “सूचना मागेको व्यक्तिलाई जती सक्यो छिटो सूचना दिन सके प्रभावकारी हुने र सुचना लिने पक्ष पनी सन्तुष्ट हुन्छन्”, उहाँले भन्नुभयो, “जिल्लास्थित विभिन्न कार्यालयहरुले अनिवार्य रुपमा सूचना अधिकारी तोक्नुपर्छ ।” कार्यालय प्रमुख व्यस्त हुने हुँदा सुचना अधिकारीले सुचना संकलन गर्ने र व्यवस्थित रुपमा अभिलेखिकरण गर्ने तथा आवश्यक परेको व्यक्ति÷निकायलाई सहज रुपमा सुचना उपलब्ध गराउनुपर्ने भनाई उहाँको थियो ।
कुनै पनी सार्वजनिक निकायले सूचना नदिएको तथा लुकाएको खण्डमा भने प्रक्रियागत रुपमा जाँदा पनी समस्या भएपछी आयोगमा पुनरावेदन गर्न सकिने र आयोगले कार्बाही गर्ने पनी उहाँले बताउनुभयो । सूचना लिने मानिसले पनि आफुले पाएको सुचनाको सहि सदुपयोग गर्नुपर्ने आयुक्त मैनालीले बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख गजेन्द्रबहादुर ओली, सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल र नेपाल पत्रकार महासंघ रुकुम (पश्चिम) का अध्यक्ष लक्ष्मण केसीले यहाँका सबै नागरिक सूचनाको पहुँचमा नभएको र के सुचना कहाँबाट लिनुपर्छ र यसको प्रक्रिया के हो भन्ने कुरामा अनभिज्ञ रहेको बताउनुभयो ।
उहाँहरुले जनस्तरसम्म सुचनाको हक सम्बन्धि जानकारी गराउनुका साथै सुचना माग गर्ने र दिने संस्कारको विकास गर्नुपर्नेमा जोड दिनुभयो । जिल्लास्थित कतीपय सार्वजनिक निकायबाट सुचना लिने दिने कुरामा आनाकानी गर्ने गरेको गुनासोहरु सुनिने गरेको बताउदै त्यसतर्फ पनि सचेत रहन उहाँले सबैलाई आग्रह गर्नुभएको छ । सुचनाको हक मौलिक हक भित्र पर्ने भएकाले सुचनाको हकबाट कोही पनी बञ्चित नहोउन भन्ने कुरामा सबैले जोड दिनुपर्ने कार्यक्रममा सहभागीहरुले बताएका थिए ।