रुकुम(पूर्व) को सिस्ने गाउँपालिकाले गाउँपालिका क्षेत्रका एक सय ७२ किसानलाई पाँच सय प्याकेट च्याउको बिउ बितरण गरेको छ । सिस्ने गाउँपालिका कृषि शाखाले यस वर्ष पालिका क्षेत्रमा झण्डै दुई हजार प्याकेट कन्य च्याउको बिउ बितरण गर्ने लक्ष्य लिएको छ । पालिका क्षेत्रका किसानहरुलाई उत्पादनमा जोडी आर्थिक रुपमा सक्षम बनाउन तथा व्यवसायिक च्याउ खेतिप्रति आकर्षण बढाउन निशुल्क रुपमा च्याउको विउ वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७८÷७९ को स्वीकृत कार्यक्रमबाट किसानलाई च्याउको बिउ वितरण गरिएको गाउँपालिकाका कृषि नायब प्राविधिक सहायक शक्ति केसीले बताउनुभएको छ । केसीकाअनुसार गाउँपालिकाबाट पाँच सय प्याकेट च्याउको बिउ वितरण गरिएको छ । सोमबार र मंगलबार गरि दुई दिनको अवधिमा पाँच सय प्याकेट च्याउको विउ वितरण गरिएको हो । गाउँपालिकाबाट प्राय ५ र ६ नम्बर वडाका किसानले च्याउको विउ लगेका छन । मंगलबार ५ नम्बर वडा कार्यलयबाट पनि च्याउको बिउ वितरण भएको वडाध्यक्ष शान्तेबहादुर विकले बताउनुभयो ।

अव गाउँपालिकामा बाकी रहेको बिउ वडा कार्यालयबाट वितरण गरिनेछ । जस्को लागि २ नम्बर वडामा एक सय ५० प्याकेट, ५ र ६ नम्बर वडामा एक÷एक सय प्याकेट विउ पठाइएको थियो । ३, ७ र ८ नम्बर वडाका लागि प्रतिवडा एक सय ५० प्याकेटका दरले बिउ पठाउने तयारी गरिएको प्राविधिक केसीले बताउनुभएको छ । ४ नम्बर वडामा भने चार सय प्याकेट बिउ पठाइने छ । उक्त वडा भूगोल र जनसंख्या दुवै हिसाबले ठुलो भएकाले त्यहाँ अन्य वडाको तुलनामा अली बढी च्याउको बिउ पठाउन लागिएको कृषि शाखाले जनाएको छ ।

यस वर्ष किसानहरु बिगतका तुलनामा च्याउ खेतीप्रति आकर्षित भएको केसीले बताउनुभयो । च्याउ खेती गरिरहेका किसानहरुलाई बिउ वितरणमा विशेष प्राथमिकता दिई १० देखि २० प्याकेटसम्म र अन्यलाई प्रति व्यक्ति ३ प्योकेटका दरले वितरण गरिएको छ । अत्याधिक चिसोका कारण १ नम्बर वडामा च्याउ उत्पादन नहुने भएपछि त्यहाँ भन्ने विउ वितरण गरिएको छैन ।