रुकुम(पूर्व) को भूमे गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालयको नयाँ भवन निर्मान हुने भएको छ । खाबाङमा रहेको इलाका प्रहरी कार्यालयको पक्की र सुविधा सम्पन्न भवन निर्माण हुने भएको हो । जसको लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशले बजेट समेत बिनियोजन भइसकेको छ ।

खाबाङमा इलाका प्रहरी कार्यालयको भवन निर्माणको लागि यस वर्षलाई ७५ लाख बजेट बिनियोजन भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी नायब उपरिक्षक(डिएसपी) गनेशबहादुर श्रेष्ठले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालयको मापदण्डअनुसार जग्गा नपुगेकाले भने तत्कालै काम सुरु गर्न सकिएको छैन् । अपुग रहेको जग्गा भूमे गाउँपालिकाले उपलब्ध गराउने प्रतिबद्धता जनाएकाले गाउँपालिकाले नपुगेको जग्गा उपलब्ध गराउने बित्तिकै संरचना निर्माणको प्रक्रिया सुरु गर्ने डिएसपी श्रेष्ठले बताउनुभयो ।

डिएसपी श्रेष्ठकाअनुसार इलाका प्रहरी कार्यालय खाबाङसँग पहिले २ हजार एक सय २० वर्गमिटर जग्गा रहेको थियो । उक्त जग्गा अपुग भएपछि भूमे गाउँपालिका २ का सर्वजित रोकाले २०७८ असारमा ४ सय वर्गमिटर जग्गा निशुल्क दान गर्नुभयो । रोकाले जग्गा उपलब्ध गराइसकेपछि इलाका प्रहरी कार्यालय भवन निर्माण गर्न पर्याप्त जग्गा पुगेपनी अहिले फेरी मध्यपहाडी लोकमार्गको मापदण्डअनुरुप २५ मिटर जग्गा छोड्नुपर्दा करिब एक सय वर्गमिटर जग्गा अपुग हुन पुगेको डिएसपी श्रेष्ठले बताउनुभयो ।

भवन निर्माणको लागि आवास तथा भौतिक परियोजना महाशाखा कार्यालय लुम्बिनी प्रदेशको प्राविधिक टोलीले नापजाँच गर्दा एक सय वर्गमिटर जग्गा अपुग देखिएको प्रहरीले जनाएको छ । अपुग देखिएको जग्गा गाउँपालिकाले उपलब्ध गराउने निर्णय गरेबित्तिकै डिपीआर, इस्टामेट गरेर ठेक्का प्रक्रियामा जाने डिएसपी श्रेष्ठले बताउनुभयो । बहुवर्षिय योजनामार्फत भवन निर्माणको काम सम्पन्न गरिने छ । अहिले खाबाङमा इलाका प्रहरी कार्यालय भाडाको घरमा बस्दै आएको छ । सुविधासम्पन्न पक्कि भवन निर्माण भयो भने सेवा प्रवाहमा पनि सहजता आउने प्रहरीले जनाएको छ ।