मध्यपहाडी लोकमार्गको रुकुम (पूर्व) खण्डमा पर्ने पातीहाल्ना क्षेत्रमा सवारी साधनलाई आवतजावतमा समस्या भएको छ । वर्षेणी हिमपातको कारण अबरुद्ध हुँदै आएको यस क्षेत्रमा अहिले पनि लामो समयदेखि हिमपातको कारण यात्रुहरुले सास्ती बेहोर्दै आइरहेका छन् । रुकुम(पूर्व) र बागलुङको सिमाना पातीहाल्ना क्षेत्रमा सडकमा जमेको हिउँ पन्छाएपनि सहज रुपमा सवारी साधन आवतजावत गर्न नसक्दा समस्या हुने गरेको यात्रुहरुले बताएका छन् ।

मध्यपहाडी लोकमार्ग हुँदै पोखरा जान भनेर गाडी लिएर आएको सल्यानको पत्रकार टोलीलले पातिहाल्ना क्षेत्रमा धेरै दुख पाएको बताएको छ । गाडी लिएर सल्यानबाट पोखराको लागि हिडेको टोली पातीहाल्ना क्षेत्रमा मंगलबार साझ ६ बजे पुगेपनि त्यहाँबाट गाडी निकाल्न दुई घण्टा लागेको टोलीकै एक जना पत्रकार बुद्धि पुनले जानकारी दिनुभयो । चिसो र हिउँ पग्लिने क्रममा भएकाले बाटो चिप्लो हुँदा ट्याक्टरले तानेर बल्लतल्ल गाडी निकाल्न सफल भएको उहाँले बताउनुभयो । अहिले बागलुङतर्फबाट आउने भन्दा रुकुमतर्फबाट जानेहरुलाई समस्या भइरहेको छ ।

पातिहाल्ना क्षेत्रमा बागलुङतर्फबाट आउने गाडि सजिलै आइरहेको तर रुकुमकोटतर्फबाट जाने गाडीहरुलाई बाटो उकालो पर्दा समस्या भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रहरी प्रमुख (डिएसपी) गनेशबहादुर श्रेष्ठले रुकुमकोटबाट सिमाना पुग्नुभन्दा ४÷६ किलोमिटर अगाडिबाटै बाटो निकै चिप्लो रहेको बताउनुभयो । हिउँ पग्लने क्रममा रहेको र बाटो पनि उकालो हुने गरेकाले यतापट्टीबाट जाने सवारीसाधनलाई सकस हुने गरेको उहाँले बताउनुभयो ।

बागलुङतर्फबाट भने सजिलै सवारी साधन आइरहेका छन् । हिउँ नपग्लिदासम्म त्यस क्षेत्रको यात्रा जोखिम र सकसपूर्ण हुने प्रहरीले जनाएको छ । हिमपातको कारण गएको माघ १८ गतेबाट बन्द भएको मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना खण्डमा तीन सातापछि मात्र खुलेको थियो । त्यसै खण्डमा अहिले पनि यात्रा सकसपूर्ण रहेको यात्रुहरुले बताएका छन् ।