जिल्ला निर्वाचन कार्यालय रुकुम(पूर्व) ले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी थालेको छ । निर्वाचनको तयारीस्वरुप कार्यालय अहिले मतदाता नामावली अद्यावधिकमा जुटेको छ । निर्वाचन घोषणा भएसँगै मतदाता नामावली सङ्कलन स्थगित गरी आन्तरिक तयारीमा लागेको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो ।

कार्यालयले ३४ हजार ७ सय ९८ जनाको प्रारम्भिक नामावली निर्वाचन आयोगमा पठाएको छ । ती मध्ये १७ हजार ७ सय ५४ जना पुरुष छन् भने १७ हजार ४४ जना महिला रहेका छन् । यो सङ्ख्या बाहिरी जिल्लाबाट दर्ता भएको बाहेक हो । स्थानीय तह निर्वाचन २०७४ मा जिल्लामा २४ हजार ४ सय ८२ मतदाता संख्या रहेकोमा प्रतिनिधि÷प्रदेशसभा निर्वाचनमा २७ हजार ९ सय २८ मतदाता संख्या रहेको थियो ।

सर्वसाधारणको सहजताका लागि प्रशासन कार्यालय र निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ताको व्यवस्था मिलाइएको थियो । नागरिकता वितरणलगत्तै प्रशासन कार्यालयबाटै मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्थाले सर्वसाधारणलाई सहज भएको थियो । स्थानीय तहमा पनि मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरिएको थियो । प्रतिनीधि र प्रदेश सभाको निर्वाचनपछि जिल्लामा करिब ७ हजारको हारहारीमा नयाँ मतदाता थपिएको निर्वाचन अधिकारी ओलीले बताउनुभयो ।

उहाँकाअनुसार कार्यालयले आयोगकै कार्यक्रम अनुसार यही फागुन १९ गतेदेखि २६ गतेसम्म मतदाता नामावली अद्यावधिक दावी विरोध समेत कार्यक्रम २०७८ सञ्चालन गर्दै छ । उक्त कार्यक्रम अन्तर्गत फागुन १९ गते प्रमुख नाम दर्ता अधिकारीको कार्यालय (निर्वाचन कार्याल) र सम्पुर्ण वडा कार्यालयमा कार्यक्रमको सुचना तथा मतदाता नामावली प्रकाशन गरिनेछ । यस कार्यक्रममा त्रुटी सच्याउन, दाबी विरोध गर्न, नामावली हटाउने कामका लागि फागुन २० देखि २२ गतेसम्म प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा निवेदन दिन सक्नेछन्। । यसरी उजुरी परेका निवेदन उपर कारवाही गरी फाल्गुन २६ भित्र कार्यालयले आयोगमा पठाउने निनर्वाचन अधिकारी ओलीले बतानुभयो ।

चैत तेस्रो साता भित्र अन्तिम नामावली प्रकाशित गर्ने आयोगको तयारी छ । साथै मतदाता परिचयपत्र हराएका र नष्ट भएका व्यक्तिलाई जिल्ला निर्वाचन कार्यालयले निवेदन प्राप्त भएमा पुनः मतदाता परिचयपत्र दिने भएको छ । कुनै पनि मतदाता मतदान कार्यबाट वञ्चित नहुन भन्नका लागि कार्यालयले यो व्यवस्था गर्न लागेको हो । निर्वाचन अधिकारी ओलीले यसअघि कार्यालयबाट मतदाता परिचयपत्र दिएका तर हाल सो परिचयपत्र हराएको वा नष्ट भएका व्यक्तिले अर्को मतदाता परिचयपत्र दिन सकिने बताउनुभयो ।

त्यस्ता मतदाताले आगामी फागुन २० गतेभित्र सम्बन्धित वडाको सिफारिस लिएर कार्यालयमा पेस गर्नुपर्ने उहाँले बताउनुभयो । साथै यस्तो सिफारिस लिँदा स्थानिय तहलाई कुनै पनि प्रकारको शुल्क नलिन आग्रह गर्ने आयोगको निर्णय बमोजिम सबै स्थानिय तहलाई पत्राचार समेत गरिसकेको जिल्ला निर्वाचन अधिकारीले बताउनु भयो ।