नेपाल सरकारका पूर्व आपूर्ती मन्त्रि एवम् नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गनेशमान पुनले पत्रकारिता निष्पक्ष हुनुपर्ने बताउनुभएको छ । उहाँले कसैको दबाब र प्रभावमा नपरि निष्पक्ष तरिकाले काम गर्नु नै पत्रकारिताको मुल मर्म रहेको बताउनुभयो । रेडियो पूर्वी रुकुमले आयोजना गरेको ७ दिने आधारभूत पत्रकारिता तालिम उद्धघाटन कार्यक्रमलाई संबोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

पत्रकारिताले आफु वरिपरी भएको तथ्यलाई कोट्याउनुपर्ने भनाई उहाँको छ । पुनले तालिममा सहभागिहरुलाई विषयवस्तुमा केन्द्रित हुन, अध्यनलाई बढाउन र इमानदारीताका साथ अघि बढ्न आग्रह गर्नुभयो । पत्रकारितामा विकृती र विसंगती फैलदै गएको बताउदै पूर्व मन्त्रि एवम् माओवादी केन्द्रका केन्द्रिय सदस्य पुनले त्यसबाट बचेर पत्रकार र पत्रकारिता आम नागरिकसँग जोडिएर काम गर्नुपर्नेमा जोड दिनुभयो । समाजमा रहेको विभेदलाई अन्त्य गर्दै खोज र अनुसन्धानको पाटोबाट पत्रकारितालाई अघि बढाउनुपर्ने भनाई उहाँको थियो ।

यस्तै सिस्ने गाउँपालिकाका प्रवक्ता एवम् २ नम्बर वडाध्यक्ष जिवन केसीले अहिलेको परिवेश सञ्चार जगतकै वरिपरी घुमीरहेको बताउनुभयो । पत्रकारिताबाट सामाजिक सेवा गर्न सकिने बताउदै प्रवक्ता केसीले नागरिकलाई सुसुचित, जागरुक बनाउने काम पत्रकारको रहेको बताउनुभयो । गलत ठाउँमा खबरदारी गर्दै र नागरिकलाई सत्यतथ्य सुचना दिने कुराले राज्यलाई बलियो बनाउने भनाई उहाँको थियो । सञ्चार जगतको विकासको लागि सिस्ने गाउँ सरकार प्रतिबद्ध रहेको पनि केसीले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ रुकुम(पश्चिम) का अध्यक्ष लक्ष्मण केसीले गाउँठाउँमा भएका राम्रा र नराम्रा दुवै कुराहरु समाचारको माध्यामबाट पत्रकारले बाहिरबाट ल्याउनुपर्ने बताउनुभयो । पत्रकारिता जगतमा छिर्न सजिलो भएपनि टिक्न मुस्किल रहेको बताउदै उहाँले निरन्तरता र मिहनत, अध्यनले पत्रकारितामा निखारता ल्याउने बताउनुभयो । यस्तै रेडियो पूर्वी रुकुमका सञ्चालक समिति अध्यक्ष लालबहादुर विसीले एक वडा एक रिपोर्टर उत्पादन गर्ने उदेश्यले तालिमको आयोजना गरेको बताउदै सहभागिहरुलाई सक्रियताका साथ पत्रकारिताका आधारभूत कुराहरु सिक्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका सिस्ने गाउँपालिका इन्चार्ज एवम् लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण रेग्मिले सत्य र न्यायको पक्षधरतामा कलम चलाउनुपर्ने बताउनुभयो । उहाँले समाजमा रहेका विकृती, विसंगतीलाई हटाउनको लागि पत्रकारको भूमीका महत्वपूर्ण हुने बताउनुभयो । रेडियोले आयोजना गरेको यस तालिमबाट पत्रकारिताका आधारभूत कुराहरु सिकेर निरन्तरता दिदै मिसन र भिजनसहित काम गर्न उहाँले तालिममा सहभागिहरुलाई आग्रह गर्नुभएको छ ।