नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् वाइसीयलका केन्द्रिय सहसंयोजक शुबोधराज शेर्पालीले जस्ताको तस्तै एमसीसी पास गर्ने एमाले र कांग्रेसको सपना आमोवादी पार्टीले चकनाचुर पारेको बताउनुभयो । नेकपा माओवादी केन्द्र सिस्ने गाउँसमितिको बैठकमा प्रशिक्षणमुलक मन्तव्य राख्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
शेर्पालीले नेपालको संविधानभन्दा माथी रहेर सम्झौता भएको एमसीसीलाई जस्ताको तस्तै नभई माओवादीको अडान र जोडबलले व्याख्यात्मक विश्लेषणसहित पास गराउन सफल भएको बताउनुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै जोखिम मोलेर एमसीसीलाई व्याख्यात्मक घोषणासहित पास गराउनुभएको र त्यसलाई अमेरीकाले पनि स्वागत गरिसकेको शेर्पालीले बताउनुभयो । नेपालले चाह्यो भने टक्कर मात्र होइन समस्याको समाधान पनि निकाल्न सक्छ भन्ने कुरा अहिले प्रचण्डले मोलेको जोखिमले पुष्टि भएको छ, शेर्पालीले भन्नुभयो ।
“एमसीसीले तलमाथी गर्यो भने नेपालले खारेज गर्न सक्ने कानुन पनि पारित भएको छ” शेर्पालीले भन्नुभयो, “अहिले नेतृत्वलाई औला ठड्याउने मात्र काम भएको छ ।” अन्य राजनीतिक दलहरुले गरेको व्यवहारलाई हेर्न र आफ्नो नेतृत्वले गरेको कामलाई गहिरिएर बुझ्नुपर्ने भनाई उहाँको थियो । माओवादीलाई सकाउनुपर्छ र अहिलेको गठबन्धनलाई टुटाउनुपर्छ भनेर लागेकाहरुको योजना माओवादी पार्टीले ध्वस्त पारेको पनि उहाँले बताउनुभयो । यी कुराहरुलाई लीएर आम नेता तथा कार्यकर्ता जनस्तरमा जानुपर्ने भनाई उहाँको थियो ।