रुकुम (पूर्व) मा नेकपा माओवादी केन्द्र सिस्ने गाउँपालिका समितिले निर्वाचन परिचालन मुल समिति निर्माण गरेको छ । सिस्ने गाउँसमितिको १८ र १९ गते रुकुमकोटमा बसेको बैठकले पार्टी प्रदेश समिति सदस्य कृष्ण रेग्मि संयोजक र कुमारी बराल सहसंयोजक भएको निर्वाचन परिचालन मुल समिति निर्माण गरेको हो ।

यस समितिमा प्रदेश समितिका सदस्य, जिल्ला समन्वय समिति सदस्य, गाउँ समितिका सदस्य, पार्टीबाट निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा पार्टी वडाध्यक्ष लगाएत रहने छन् । निर्वाचन परिचालन मुल समितिको २१ सदस्यिय सचिवालय गठन गरिएको छ । यस्तै निर्वाचन परिचालन उपसमिति पनि निर्माण गरिएको नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य एवम् सिस्ने गाउँपालिका इन्चार्ज रेग्मिले जानकारी दिनुभयो । उहाँकाअनुसार पार्टी सिस्ने गाउँसमितिका अध्यक्ष मन्सराम खड्काको संयोजकत्वमा मत सर्वेक्षण तथा अनुसन्धान उपसमिति निर्माण गरिएको छ ।

गाउँसमितिका उपाध्यक्ष गोबरधन बुढाको संयोजकत्वमा प्रचारप्रसार तथा सुचना संचार, उपाध्यक्ष शान्तेबहादुर विकको संयोजकत्वमा आर्थिक परिचालन उपसमिति र सचिव कर्णबहादुर खत्रीको संयोजकत्वमा युवा परिचालन तथा सुरक्षा उपसमिति, निर्माण गरिएको इन्चार्ज रेग्मिले बताउनुभयो । यस्तै पार्टी गाउँसमिति यस अघि ४९ सदस्यीय रहेकोमा १२ जनालाई मनोनीत गरि ६१ सदस्य पुर्याइएको छ । जसको २१ सदस्यीय सचिवालय पनि गठन गरिएको इन्चार्ज रेग्मिले बताउनुभयो ।

यस्तै बैठकले जयबहादुर पुनको संयोजकत्वमा ज्येष्ठ कम्यूनिष्ट मञ्च, चन्द्रबहादुर थापाको संयोजकत्वमा सल्लाहकार समिति निर्माण गरिएको छ । पार्टी सिस्ने गाउँसमितिले फागुन २५ गतेबाट ३० गतेसम्म जनसम्बन्ध सुदृढ अभियान सञ्चालन गर्ने भएको छ ।

गाउँपालिकाको १ देखि ४ नम्बर वडामा इन्चार्ज रेग्मिको संयोजकत्वमा जनसम्बन्ध सुदृढ अभियान सञ्चालन गरिने छ भने ५ देखि ८ नम्बर वडामा पार्टी प्रदेश समिति सदस्य कुमारी बरालको संयोजकत्वमा अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । साथै सबै जनवर्गिय संगठनको बैठक फागुन ३० गतेभित्र बसिसक्ने निर्णय गरिएको नेकपा माओवादी केन्द्र सिस्ने गाउँसमितिले बताएको छ ।