नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् सिस्ने गाउँपालिका ईन्चार्ज कृष्ण रेग्मिले आगामी निर्वाचनमा जन्ताहरुले दिएको महत्वपूर्ण सल्लाह सुझावलाई आत्मसाथ गर्दे अघि बढ्ने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र सिस्ने गाउँसमितिको निर्णयअनुसार सञ्चालन गरिएको जनसम्बन्ध सुदृढ कार्यक्रम अभियानको क्रममा सिस्ने गाउँपालिका वडा नम्बर ३ को पोखरा र पाँगामा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

इन्चार्ज रेग्मीले पार्टीका सम्पुर्ण नेता कार्यकर्तालाई एकताबद्ध भएर लाग्न र नेतृत्व र पार्टीप्रती विश्वास गर्न आग्रह गर्नुभयो । माओवादीकै कारण देशमा यत्रो परिवर्तन आएको बताउदै उहाँले आगामी चुनावमा पनि माओवादी पार्टीलाई जिताउन आम नागरिकलाई आग्रह गर्नुभयो । यस्तै कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका सिस्ने गाउँकमिटी उपाध्यक्ष गोबर्धन बुढाले अहिले देश माओवादीको एजेन्डामा चलिरहेको बताउनुभयो । विविध कारणबस बिचमा भएको पार्टी एकता र फुटको कारण सबैको घरदैलोमा आफुहरु र नेतृत्व पुग्न नसकेको पनि उहाँले स्विकार गर्नुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका सिस्ने गाउँ कमिटी सहसचिव रेवन खड्काले गाउँ कमिटीले जारी गरेको सर्कुलर वाचन गर्दै सर्कुलरअनुसार पार्टीका गतिविधि अगाडि आग्रह गर्नुभयो । अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले आगामी वैशाख ३० गते हुने स्थानीय चुनावमा पार्टीलाई सुढृढ गर्दै सबैको जनचाहना अनुसार उम्मेदवार छनोट गर्नुपर्नेमा जोड दिएका थिए । गाउँपालिकाले ३ नम्बर वडामा गरेको काम अहिलेसम्म सन्तोषजनक रहेको स्थानीयको भनाई रहेको थियो । साथै अब हुने स्थानीय चुनावमा म मेरो भन्नू भन्दा हामी हाम्रो भनेर लाग्न सुझाब दिएका थिए ।

माओवादीले थालनी गरेको १० बर्ष जनयुद्धले गर्दा नै अहिले गाउँगाउँमा सरकार आएको र स्वास्थ्य, शिक्षा र खानेपानीमा थुप्रै विकास भएको तर यसको जस अरु पार्टीले लिने गरेको नेकपा सिस्ने गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य मदन खड्काले बताउनुभयो । उक्त कार्यक्रममा जबसका विभिन्न सङ्गठनले पछिल्लो समय भए गरेका विभिन्न कामको बारेमा जानकारी गराएका थिए । पार्टी वडाकमिटी अध्यक्ष नन्दराम लामिछनेको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य तथा सिस्ने गाउँ कमिटी ईन्चार्ज कृष्ण रेग्मिको प्रमुख र सिस्ने गाउँकमिटी उपाध्यक्ष गोबर्धन बुढाको विशेष आतीथ्यता रहेको थियो ।

यसैगरी कार्यक्रममा पार्टी गाउँकमिटी सहसचीव रेवन खड्का, सिस्ने गाउँ कमिटी सचिवालय सदस्य गोपिराम खड्का, गाउँ कमिटी सदस्य लोकेन्द्र खड्का, अनेरास्ववियु क्रान्तिकारी लुम्बिनी प्रदेश उपाध्यक्ष रुपेन्द्र मल्ल, अनेम संघ सिस्ने गाउँ कमिटी सचीव मिना खड्का लगाएत वडाका विभिन्न जनवर्गिय संगठनका नेताकार्यकर्ताको उपस्तिथि रहेको उक्त कार्यक्रमको संचालन वडा कमिटी सहसचीव मिलन मगरले गर्नुभएको थियो ।