
रुकुम(पूर्व) को सिस्ने गाउँपालिकामा आजबाट नेकपा माओवादी केन्द्रको जनसम्बन्ध सुदृढ अभियान सुरु भएको छ । माओवादी केन्द्र सिस्ने गाउँसमितिले यो अभियानको थालनी गरेको हो । गाउँपालिका भित्रका विभिन्न वडालाई दुई क्षेत्रमा विभाजन गरेर छुट््टाछुट्टै कमाण्ड बनाई अभियानको थालनी गरिएको हो । सिस्नेमा भेरी वारी र भेरी पारी भनेर दुई क्षेत्र विभाजन गरिएको छ ।
भेरी पारी क्षेत्र अर्थात सिस्ने गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडामा नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य एवम् सिस्ने गाउँपालिका इन्चार्ज कृष्ण रेग्मिको नेतृत्वमा जनसम्बन्ध सुदृढ अभियानको थालनी गरिएको छ । भेरी वारी अर्थात वडा नम्बर ५, ६, ७ र ८ मा प्रदेश समिति सदस्य कुमारी बरालको नेतृत्वमा अभियानको थालनी गरिएको हो । दुवै क्षेत्रमा आज एकै दिनबाट जनसम्बन्ध सुदृढ अभियानको थालनी गरिएको नेकपा माओवादी केन्द्र सिस्ने गाउँसमितिले जनाएको छ ।
भेरी पारी क्षेत्रमा आज वडा नम्बर ३ को पांगा र पोखरामा कार्यक्रम सञ्चालन गरिएको छ । भेरी वारीको क्षेत्रमा वडा नम्बर ८ को स्यालापाखा, भुरुङ्गा र लम्पाकोटमा अभियान कार्यक्रम सञ्चालन गरिएको छ । २६ गते ४ नम्बर वडाको ढाका, दादिङ र अमलाचौर, वडा नम्बर ७ को घरेली र सानचौरमा अभियान सञ्चालन गरिने छ । २७ गते वडा नम्बर २ को छिपखोला र नायगाड २८ गते वडा नम्बर २ को सुद्री र वडा नम्बर ६ र २९ गते वडा नम्बर १ को सिस्ने र वडा नम्बर ५ मा अभियान सञ्चालन गरिने नेकपा माओवादी केन्द्र सिस्ने गाउँसमितिले जनाएको छ ।
अभियानको क्रममा नागरिकसँग अन्तरक्रिया, छलफल गरिएको छ । अहिलेसम्म स्थानीय सरकारले गरेका कामकाजको जानकारी गराइएको छ भने गर्न नसकेका कामहरु पनि के कारणले हुन सकेन नागरिकलाई प्रष्ट पार्ने काम भइरहेको छ ।