नेकपा एमाले रुकुम (पूर्व) को जिल्ला अधिवेशन आज देखि हुदै छ । फागुन २७ र २८ गते दुई दिनसम्म हुने ८ औं अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको नेकपा एमाले जिल्ला पार्टी सचिव लिलामणी गौतमले जानकारी दिनुभयो । अन्य जिल्लामा गएको पुष २३ गते जिल्ला अधिवेशन सम्पन्न भए पनि हिमाली जिल्लाको लागि १ महिना पछिसम्म पनि अधिवेशन गर्न सक्ने व्यवस्था केन्द्रले नै तोकेको थियो ।

सोहि अनुसार रुकुम(पूर्व) मा फागुन २७ र २८ गते अधिवेशन गरिदै छ । पार्टीको जिल्ला आयोजक कमिटी १ सय ५६ जनाको छ । प्रतीनिधीहरु अधिवेशनमा सिस्ने गाउँपालिकाबाट २७ जना, भूमे गाउँपालिकाबाट ९ जना र पुथाउत्तरगंगा गाउँपालिकाबाट १३ जना प्रतिनिधि आउने जिल्ला सचिव गौतमले बताउनुभयो ।

यस्तै सल्लाहकार परिषदबाट १५ जना र २३ वटा जनवर्गिय संगठनबाट पाँचपाँच जना र मनोनीत १८ गरी ३ सय ७७ जना प्रतीनिधी रहने नेकपा एमाले रुकुम(पूर्व) ले बताएको छ । जिल्ला अधिवेशनले ६५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव गरी पाँच जनाको पदाधिकारी सहित ६५ सदस्यीय जिल्ला कार्यसमिति निर्माण हुने छ ।

२७ गते आज अधिवेशनको उद्धघाटन सत्र चल्ने र २८ गते बन्दसत्र चल्ने सचिव गौतमले बताउनुभयो । अधिवेशनमा नेकपा एमालेका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थाइ कमिटी सदस्य मणिचन्द्र थापा, पोलिटब्युरो सदस्य एवम् जिल्ला इन्चार्ज खेममान खड्का, लुम्बिनी प्रदेश संगठन कमिटी अध्यक्ष राधाकृष्ण कंडेल लगाएतको उपस्थिती रहने नेकपा एमाले रुकुम(पूर्व) ले जनाएको छ ।