रुकुम(पूर्व) को सिस्ने गाउँपालिकामा नेकपा माओवादी केन्द्रको जनसम्बन्ध सुदृढ अभियान सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र सिस्ने गाउँपालिका समितिको फागुन १८ र १९ गते बसेको बैठकले गरेको निर्णयअनुसार थालिएको जनसम्बन्ध सुदृढ अभियान शनिबार सम्पन्न भएको हो । सिस्ने गाउँपालिकामा भेरी वारी र भेरी पारी भनेर दुई वटा क्षेत्र विभाजन गरि यो अभियान फागुन २५ गतेबाट सुरु गरिएको थियो ।

भेरी पारी अर्थात १ देखि ४ नम्बर वडामा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिति सदस्य एवम् सिस्ने गाउँपालिका इन्चार्ज कृष्ण रेग्मि र भेरी वारी अर्थात ५ देखि ८ नम्बर वडामा पार्टी प्रदेश समिति सदस्य कुमारी बरालको नेतृत्वमा अभियान थालिएको थियो । २५ गते सिस्ने गाउँपालिकाको ३ र ८ नम्बर वडामा, २६ गते ४ र ५ नम्बर वडामा अभियान सञ्चालन गरिएको थियो । २७ गते २ र ६ नम्बर वडामा अभियान सञ्चालन गरेको माओवादी केन्द्र सिस्ने गाउँसमितिले २८ गते सिस्ने ७ को सानचौरमा अभियान सम्पन्न गरेको छ ।

१ नम्बर वडामा भने प्रदेश समितिको बैठकपछि अभियान कार्यक्रमलाई जोडिने छ । ७ वटा वडामा जनसम्बन्ध सुदृढ अभियान सफलतापूर्वक सम्पन्न भएको सिस्ने गाउँसमितिले बताएको छ । अभियानको क्रममा विभिन्न ठाउँमा अन्तरक्रिया कार्यक्रममार्फत जनताका गुनासा तथा सल्लाह सुझावहरुलाई बटुल्ने काम गरिएको भेरी वारि अभियानको नेतृत्व गरिरहनुभएका पार्टी लुम्बिनी प्रदेश समिति सदस्य एवम् सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो ।

अभियानको क्रममा सिस्ने सरकारले गरेका विभिन्न कामहरुको जानकारी गराएको बताउदैँ अध्यक्ष बरालले सिस्ने सरकारले गरेको कामप्रति नागरिकहरु सन्तुष्टि छन् की छैनन् भनेर प्रतिक्रिया लिइएको थियो । अन्तरक्रिया कार्यक्रममा सहभागी नागरिकहरुले पाँच वर्ष अघि र अहिलेको सिस्ने गाउँपालिकको मुहारमा धेरै परिवर्तन आएको बताएका छन् । विभिन्न ठाउँमा नागरिकका असन्तुष्टि आएपनि तीनै असन्तुष्टि र सल्लाह सुझावलाई मनन गरेर अघि बढ्ने अध्यक्ष बरालले बताउनुभएको छ ।

भेरी पारी अभियानको नेतृत्व गर्नुभएका रेग्मिले नेकपा माओवादी केन्द्रप्रति नागरिकको प्रतिक्रिया सकारात्मक भएको बताउनुभएको छ । विभिन्न ठाउँमा अन्तरक्रिया र प्रशिक्षण गर्दै जादा माओवादी केन्द्रबाट जानप्रतिनिधीमा निर्वाचित भएर गएकाहरुले विकास निर्माण देखि लिएर शिक्षा, स्वास्थ्य, खानेपानीलगाएतको क्षेत्रमा राम्रो काम गरेको भन्दै प्रशंसा गरेको नेता रेग्मिले बताउनुभयो । आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रलाई नै विजयी बनाउने पनि नागरिकहरुले बताएका छन् ।

साथै उनिहरुले जनचाहनाअनुसारका उम्मेद्वारलाई चुनावमा खडा गर्न सुझाव दिएका छन् । नागरिकबाट आएका सल्लाह सुझावबाटै आगामी कार्यदिशा तयार पार्ने नेता रेग्मिले बताउनुभएको छ ।