रुकुम(पूर्व) मा परिवार नियोजनको स्थाई बन्ध्याकरण शिविर सञ्चालन हुने भएको छ । जिल्लाकै तीन वटै गाउँपालिकाको विभिन्न तीन ठाउँमा स्थमयी बन्ध्याकरण शिविरि (मिनिल्याप र भ्याक्सेक्टोमी) साथै लामो अवधिको परिवार नियोजन सेवाको आइ. यू. सी. डी. इम्प्लान्ट सेवा सञ्चालन हुने स्वास्थ्य कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ ।

चैत्र ८ गते पुथाउत्तरगंगा गाउँपालिका १२ मा रहेको कोल प्राथमिक स्वास्थ्य केन्द्रमा, चैत्र १० गते भूमे गाउँपालिका २ मा रहेको स्वास्थ्यचौकी काँक्रीमा र चैत्र ११ गते रुकुम(पूर्व) अस्पताल रुकुमकोटमा शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालय रुकुम(पूर्व) का कोल्ड चेन निरीक्षक मनोज श्रेष्ठले जानकारी दिनुभएको छ । यो शिविर जिल्लामा वर्षमा एक पटक सञ्चालन हुदैँ आएको उहाँले बताउनुभयो ।

सन्तानको रहर पुगिसकेका इच्छुक दम्पतीहरुलाई स्वास्थ्य कार्यालयले सम्बन्धित ठाउँमा गएर स्थायी बन्ध्याकरण सेवा लिन आग्रह गरेको छ । स्थायी बन्ध्याकरण मिनिल्याप सेवा लिन चाहनेहरु भने खाना नखाएर खाली पेटमै आउन भनिएको छ । परिवार नियोजन संघ दाङको प्राविधिक सहयोगमा शिविर सञ्चालन गर्न लागिएको हो ।

यस्तै रुकुम(पूर्व) मा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर पनि सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय रुकुम(पूर्व) को समन्वय तथा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा शिविर सञ्चालन हुन लागेको हो । चैत्र १८ गते रुकुम(पूर्व) अस्पतालमा शिविर सञ्चालन हुने कोल्ड चेन निरीक्षक श्रेष्ठले बताउनुभयो । उहाँकाअनुसार यस शिविरमा नाक, कान, घाटी, बाल रोग र स्त्री रोग सम्बन्धिको सेवा विशेषज्ञ डाक्टरमार्फत प्रदान गरिने स्वास्थ्य कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ ।