रुकुम(पूर्व) मा नमूना कृषि गणना गरिने भएको छ । कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशले रुकुम(पूर्व) र नवलपरासी (पश्चिम) मा प्रदेशको नमूना कृषि जनगणना गर्ने भएको हो । जसको लागि नमुना पाइलट अभियानमुखी तथ्याङ्क संकलन तथा अद्यावधिक गर्न गणक परिचालनका लागि अभिमुखीकरण गोष्ठी गरिएको छ ।
एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम(पूर्व) को समन्वय तथा कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशको आयोजनामा शनिबार रुकुमकोटमा अभिमुखीकरण गोष्ठी सम्पन्न गरिएको छ । संघीयतापछि नयाँ बनेको रुकुम(पूर्व) र नवलपरासी (पश्चिम)मा कृषि तथा पशुपालन लगाएतको यथार्थ तथ्याङ्क नभएकाले नमुना कृषि गणना गर्न लागिएको कृषि विकास निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले बताउनुभयो । नमूना कृषि जनगणना गर्नको लागि चालु आर्थिक बर्षमा पच्चीस लाख रुपैंया बजेट विनियोजन भएको छ ।
साथै यी जिल्लामा गरिएको नमुना कृषि गणना कार्यक्रम प्रभावकारी भए आगामी बर्षमा लुम्बिनी प्रदेशका सबै जिल्लामा यो कार्यक्रम संञ्चालन गर्ने उहांले बताउनुभयो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुकुम (पूर्व) का प्रमुख गजेन्द्रबहादुर ओलीले राज्यले कृषि मार्फत नागरिकलाई ब्यवसायिक तथा आत्मनिर्भर बनाउन धेरै लगानी गरेको बताउनुभयो । गणकले लिएको तथ्यांकको आधारमा रहि जिल्लाको योजना तर्जुमा एवं नीति निर्माण गरिने भएकाले सहि तथ्यांक दिन र लिन आग्रह गर्नुभयो । आफै बसोवास गरी रहेको वडाको समग्रह क्षेत्रको बारेमा जानकारी लिने एउटा अवसर भएकाले गणकहरुलाई तथ्यांक संकलनमा सक्रिय पूर्व सहभागि हुन समन्वय प्रमुख ओलीले आग्रह गर्नुभयो ।
कार्यक्रममा एकिकृत कृषि तथा पशुपंछी विकास कार्यालय रुकम(पूर्व) का प्रमुख पिताम्बर बस्नेतले कार्यक्रमको परिचय, आवश्यकता, विधिको बारेमा जानकारी गराउदै जिल्लामा नमूना कृषि गणनाको लागि ३१ जना गणक छनौट गरिएको छ । जिल्लाको कृषि तथा पशुपालन तथ्याङ्कलाई बढी भरपर्दो र विश्वसनीय बनाउने उद्धेश्यका साथ प्रत्येक वडाबाट १ जनाका दरले गणक छनौट गरिएको छ । छनौट भएका गणकहरुले चैत १५ गते देखि बैशाख १५ गतेसम्म विधिवत रुपमा प्रत्येक कृषकको घर घरमा पुगी तथ्यांक संकलन गर्ने कार्यालय प्रमुख बस्नेतले बताउनुभयो । गणकले दिनमा कम्तिमा २० वटा फर्म भर्नुपर्ने छ ।
उहाँका अनुसार कृषि गणनामा जिल्लाको कृषि संरचना, गतिविधि, सिंचाइ तथा कृषि उत्पादनसँग सम्बन्धीत विवरण संकलन गरिने छ । कृषकले चलन गरेको जग्गा तथा पशुपन्छी पालन, खाद्यान्न, तरकारी, फलफूल, लगायत अन्यखेती सम्बन्धी क्षेत्रफल तथा उत्पादन, विवरण, बजारीकरणको अवस्था, कृषि सामाग्री, कृषि औजारको प्रयोग, कृषि समुह, सहकारी, संघसंस्थामा आवद्ध भए नभएको, कृषि क्रण, बीमा र अनुदानको उपलब्धता, कृषिमा वातावरणीय प्रभाव जस्ता २६ प्रकारका प्रश्नावलीमा रहेर तथ्यांक संकलन गरिने छ ।
यसरी संकलन गरिएको तथ्याङ्कले कृषि विकासका लागि स्थानीय, जिल्ला, प्रदेश, राष्ट्रिय स्तरका योजना तर्जुमा एवं नीति निर्माण, अनुगमन तथा मूल्याङ्कन गर्न आवश्यक पर्ने कृषि क्षेत्रको बनौट तथा तथ्याङ्कको खाँचो पूरा गरी योजनाविद् र नीति निर्माताहरूलाई सघाउ पुर्याउने अपेक्षा गरिएको छ ।
कृषि विकास निर्देशनालयका प्रमुख याम नारायण देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख गजेन्द्र बहादुर ओलीको प्रमुख तथा एकिकृत कृषि तथा पशुपंछी विकास कार्यालय रुकम(पूुर्व) का प्रमुख पिताम्बर बस्नेतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा ३ वटै गाउंपालिकाका कृषि तथा पशु शाखाका प्रमुख तथा प्रतिनिधिको पनि उपस्थिति रहेको थियो । पशुपंछी तथा मत्स्य विकास निर्देशनालयका मत्स्य विकास अधिकृत रिम बहादुर थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संञ्चालन कृषि विकास निर्देशनालय वागबाणि विकास अधिकृत सुनैना बरालीले गर्नुभएको थियो ।