रुकुम(पूर्व) को भूमे गाउँपालिकामा सिंचाई योजना निर्माणको काम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ६ महतमा निर्माण गरिएको सिंचाई योजनाको उर्जा जलस्रोत तथा सिंचाई मन्त्रि बिरबहादुर राणाले उद्धघाटन गर्नुभएको छ । मन्त्रि राणाले रिवन काटेर तथा विद्युतीय स्विच थीचेर सिंचाई योजनाको उद्धघाटन गर्नुभएको हो ।
भूमे गाउँपालिकाको महतमा क्रमागत बजेटबाट तीन आर्थिक वर्षमा सिंचाई योजना निर्माणको कामलाई पूर्णता दिइएको हो । त्यहाँ आर्थिक वर्ष २०७५÷७६ बाट सिंचाई योजनाको काम सुरु भई चालु आर्थिक वर्ष अर्थात २०७८÷७९ मा पूर्णता दिइएको जलस्रोत तथा सिंचाई विकास सव डिभिजन कार्यालय रुकुम(पूर्व) का प्रमुख योगेन्द्र महत्तोले जानकारी दिनुभयो । उहाँकाअनुसार लुम्बिनी प्रदेश सरकारको १ करोड ७१ लाख ७४ हजार एक सय ७८ रुपैयाँ ९४ पैसा र ७ लाख ६० हजार ५ सय ७९ रुपैयाँ ७१ पैसाको जनश्रमदान गरी कुल १ करोड ७९ लाख ३४ हजार ७ सय ६० रुपैयाँ ७० पैसामा सिंचाई योजना निर्माणको काम सकिएको छ ।
यस सिंचाई योजनाबाट महतका एक सय ५० घरधुरी लाभान्वित हुने छन् । त्यहाँको २२ हेक्टर क्षेत्रफल जमिनमा सिचाईको सुविधा पुग्ने कार्यालय प्रमुख महत्तोले बताउनुभयो । यो आयोजना नहर र लिफ्ट प्रविधिको छ । प्रमुख महत्तोकाअनुसार यो सिंचाई योजनाको मुहान डुप्का खोला हो । यसको मुहानमा पानीको मात्रा १७ लिटर प्रतिसेकेण्ड र नहरको मुख्य पाइपलाइन क्षमता ५.१० लिटर प्रतिसेकेण्ड रहेको छ । महतमा इन्टेक एक वटा, मेन पाइप लाइन, वितरण पाइप लाइन, आरभीटी वानमा ४६.८० घनमिटरको रिजरभ्वाइर टंकी, आरभिटी टु मा ५१.८२ घनमिटरको रिजरभ्वाइर टंकि र आरसिसि वितरण चेम्बर १४ वटा, पम्प घर एउटा निर्माण गरिएको छ ।
जलस्रोत तथा सिंचाई विकास सव डिभिजन कार्यालय रुकुम(पूर्व) का अनुसार आरभिटी वानदेखि आरभिटी टु सम्मको लिफ्ट गर्ने उचाई ९० मिटर, मुहानदेखि आरभिटी वानसम्म एचडिपीई पाइपलाइनबाट पानी तान्ने क्षमता ५.१० लिटर प्रतिसेकेन्ड, र आरभिटी वानदेखि आरभिटी टु सम्म जी. आई. पाइपबाट ९० मिटर उचाईसम्म पानी तान्ने क्षमता ८.४९ लिटर प्रतिसकेण्ड रहेको छ । उपभोक्ता समितिमार्फत यो सिंचाई योजना निर्माणको काम सकिएको हो ।
पाखो डाँडा महतमा लिफ्टमार्फत सिंचाइको सुविधा पुग्ला भनेर कल्पनै नगरेका त्यहाँका नागरिक लिफ्टमार्फत सिंचाईको सुविधा पुगेपछि खुसीले गदगद भएको जल उपभोक्ता समितिका अध्यक्ष गुमधन बुढाले बताउनुभयो । अब यसलाई दिगो बनाउनतीर सबैले ध्यान दिनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ । उपभोक्ता समितिका अध्यक्ष गुमधन बुढाको अध्यक्षतामा भएको सिंचाई योजना उद्धघाटन कार्यक्रममा लुम्बिनी प्रदेश उर्जा जलस्रोत तथा सिचाई मन्त्रि बिरबहादुर रानाको प्रमुख आतीथ्यता रहेको थियो ।
कार्यक्रममा पहिलो संविधान सभा सदस्य जुनकुमारी रोका, लुम्बिनी प्रदेश भौतीक पूर्वाधार विकास समिति सभापती आशा स्वर्णकार, लुम्बिनी प्रदेशसभा सदस्य तेजबहादुर ओलीको विशेष आतीथ्यता रहेको थियो । यस्तै उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिपक घिमिरे, भूमे गाउँपालिका उपाध्यक्ष मनकुमारी बुढा (विष्ट), प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्का, जिल्ला प्रहरी प्रमुख डिएसपी गनेशबहादुर श्रेष्ठलगाएत जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख एवम् प्रतिनीधि, वडाध्यक्ष, राजनीतिक दलका प्रमुख एवम् प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।