रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकामा सञ्चालन गरिएको परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरमा एक जनाले मात्र सेवा लिएका छन् । गाउँपालिलकाको वडा नम्बर १२ कोलमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा मंगलबार सञ्चालन गरिएको शिविरमा दिनभर एक जनाले मात्र सेवा लिएका छन् ।

स्वास्थ्य कार्यालय रुकुम(पूर्व) को आयोजना तथा परिवार नियोजन संघ दाङको प्राविधिक सहयोगमा आयोजना गरिएको एक दिने स्थायी बन्ध्याकरण शिविरमा वडा नम्बर १२ की एक महिलाले मात्रै इम्प्लान्ट सेवा लिएको कोल प्राथमिक स्वास्थ्य केन्द्रका अहेव तिलकबहादुर विष्टले जानकारी दिनुभयो । अन्य दुई जना महिमा मिनिल्याप गर्न भनेर आएको तर उनिहरु खाना खाएर आएको कारण ती महिलालाई मिनिल्याप सेवा दिन नसकेको अहेव ष्टिले बताउनुभयो । मिनिल्याप सेवाको लागि खाली पेट आउन आग्रह गरिएको थियो ।

दिनभर शिविरको ब्यानर टासेर बसे पनि सेवा लिने मान्छे नआउदा शिविरमार्फत धेरै मानिसलाई सेवा दिन नसकिएको बताइएको छ । समाजमा कायम रहेको पुरानो चिन्तनका कारण स्थायी बन्ध्याकरण गर्न मानिसहरु डराउने गरेको पाइएको अहेव विष्टले बताउनुभयो । उहाँकाअनुसार त्यहाँका मानिसहरु स्थाई बन्ध्याकरण गरेपछि स्वास्थ्यमा असर पर्ने र कमजोर भई काम गर्न नसकिने भन्ने बुझाई रहेकाले शिविरमा मानिसहरु नआएको पाइयो । अझै पनि चेतनाको अभावमा मानिसहरु स्थाई बन्ध्याकरण गर्न डराइरहेका छन् ।

यहि शिविर चैत्र १० गते भूमे गाउँपालिका २ मा रहेको स्वास्थ्यचौकी काँक्रीमा र चैत्र ११ गते रुकुम(पूर्व) मा सञ्चालन हुन लागेको छ । यो शिविर जिल्लामा वर्षमा एक पटक सञ्चालन हुदैँ आएको छ । सन्तानको रहर पुगिसकेका इच्छुक दम्पतीहरुलाई स्वास्थ्य कार्यालयले सम्बन्धित ठाउँमा गएर स्थायी बन्ध्याकरण सेवा लिन आग्रह गरेको छ । शिविरमा (मिनिल्याप र भ्याक्सेक्टोमी) साथै लामो अवधिको परिवार नियोजन सेवाको आइ. यू. सी. डी. इम्प्लान्ट सेवा दिइो छ ।

स्थायी बन्ध्याकरण मिनिल्याप सेवा लिन चाहनेहरु भने खाना नखाएर खाली पेटमै आउनुपर्ने छ ।