कुमार राना


जिल्ला प्रशासन कार्यालय रुकुम(पूर्व) ले इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सेवा थालनी गरेको छ । यहि चैत्र ७ गतेबाट निरन्तर रुपमा इ–पासपोर्टको लागि फारम भर्ने काम सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र बुढाक्षेत्रीले जानकारी दिनुभयो ।

राहदानीका लागि अनलाइन फारम भर्ने भएकाले मानिसहरुले अहिले फारम भरिरहेका छन् । यस अघि राहदानी बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा हार्ड कपीमा फारम भरी काठमाण्डौँ पठाउने गरिन्थ्यो । हार्ड कपीमा भरिएको फारम पठाउँदा र काठमाण्डौँबाट जिल्लासम्म आउँदा ३÷४ महिनाको समय लाग्ने गरेको थियो ।

अब भने अनलाइन मार्फत फार्म भरेको त्यसको बढीमा एक महिनासम्ममा राहदानी वितरण गरिने सहायक प्रमुख जिल्ला अधिकारी बुढाक्षेत्रीले बताउनुभयो । इ–पासपोर्ट वितरणकै लागि भनेर जिल्लामा गएको मंसिर १५ गतेदेखि राहदानी फारम भर्न बन्द गरिएको थियो ।

एमआरपीको तुलनामा इ–पासपोर्ट बढी विश्वसनीय र सुरक्षित हुने जनाइएको छ । जिल्लाबाटै सो सेवा पाइने भएपछि सेवाग्राहीलाई काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । साथै धेरै समय पर्खिनुपर्ने बाध्यता पनि हटेको छ ।