रुकुम(पूर्व) मा नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र सिस्ने गाउँ संगठन समितिद्धारा बृहत राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बिहिबार गाउँ संगठन समितिको बैठक सम्पन्न गरेको समितिले शुक्रबार रुकुमकोटस्थित सिस्ने शिक्षा क्याम्पसमा बृहत राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
प्रशिक्षण कार्यक्रमलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कमला रोका, केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज तेजबहादुर ओली, पार्टी प्रदेश कार्यालय सदस्य रामसुर बुढामगर र पार्टी जिल्ला समन्वय समिति रुकुम(पूर्व) का संयोजक होमप्रकाश श्रेष्ठलगाएतले संबोधन गर्नुभएको थियो । आगामी वैशाखमा हुन लागेको स्थानीय तहको चुनावलाई लक्षित गर्दै “घरघर जाऔ, माओवादी केन्द्रलाई विजयी बनाऔ” भन्ने अभियानअन्तर्गत प्रशिक्षण कार्यक्रमको अयोजना गरिएको नेकपा माओवादी केन्द्र सिस्ने गाउँ संगठन समितिले बताएको छ ।
प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कमला रोकाले रुकुम(पूर्व) मा माओवादीलाई हार्ने छुट नभएको बताउनुभएको छ । यो जिल्ला जनयुद्धको आधारइलाका भएको र यहि भूमीबाट सुरु भएको १० वर्षे जनयुद्ध तथा १९ दिने जनआन्दोलनबाट आएको उपलब्धिमा नै देश अडेको बताउदै नेता रोेकाले आगामी स्थानीय तहको चुनावमा पनि पार्टीले जित्नै पर्ने र पार्टीलाई जिताउन सबै आ–आफ्नो ठाउँबाट खटेर लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । माओवादीले जिते मात्र जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुको संस्थागत र विकास गर्न सकिने रोकाले बताउनुभयो ।
यसैलाई टेकेर समाजवादी क्रान्तिको आधार तयार पार्नुपर्नेमा पनि नेता रोकाले जोड दिनुभएको छ । यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज तेजबहादुर ओलीले देश माओवादीको एजेण्डामा चलिरहेको बताउनुभएको छ । माओवादीको कारण प्राप्त उपलब्धिले देशमा गणतन्त्र, संघियता आएको बताउदै नेता ओलीले पछिल्लो समयमा भने व्यक्तिका कार्यशैलीले केहि समस्याहरु देखिएको बताउनुभयो । आगामी स्थानीय तहको चुनावमा तीन गाउँपालिका र ३१ वटै वडामा विजयी हासिल गर्ने गरी सबैलाई आ आफ्नो ठाउँबाट लाग्न नेता ओलीले कार्यकर्तालाई निर्देशन पनि दिनुभएको छ ।
यस्तै बृहत राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै पार्टी प्रदेश कार्यालय सदस्य रामसुर बुढामगर र जिल्ला समन्वय समितिका संयोजक होमप्रकाश श्रेष्ठले स्थानीय तहको चुनाव नजिकिदै गएकाले सबैलाई सक्रिय भएर चुनावमा पार्टीलाई बिजयी बनाउनतीर लाग्नुपर्ने बताउनुभयो । रुकुम(पूर्व) मा वडा र सबै पालिकामा माओवादी केन्द्रे क्लिन सुइप पारेर जानुपर्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्र सिस्ने गाउँ संगठन समितिका अध्यक्ष मन्सराम खड्को अध्यक्षतामा भएको बृहत प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कमला रोकाको प्रमुुख तथा केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज तेजबहादुर ओलीको विशेष आतीथ्यता रहेको थियो । कार्यक्रममा पार्टी केन्द्रिय सदस्य एवम् जिल्ला सहइन्चार्ज जुनकुमारी रोका, वैकल्पिक केन्द्रिय सदस्य मेघबहादुर श्रेष्ठ, ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरु, पार्टी प्रदेश कार्यालय सदस्य रामसुर बुढामगर, जिल्ला समन्वय समिति, गाउँ संगठन समिति, वडा समितिका पदाधिकारी तथा सदस्यहरु र आम कार्यकर्ताको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्र सिस्ने गाउँ संगठन समितिका सचिव कर्णबहादुर खत्रीले गर्नुभएको थियो ।