
रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको ठाँटी डाँडा द्धोन्द्ध स्थलमा युद्ध संग्राहलय निर्माण हुने भएको छ । युद्ध पर्यटन प्रवद्र्धनको लागि ठाँटी डाँडामा युद्ध संग्राहलय निर्माणको कामलाई अघि बढाइएको हो । त्यहाँ गाउँपालिका र प्रदेश सरकारकोा सवा पाँच करोडको लागानीमा युद्ध संग्राहलय निर्माण हुन लागेको सिस्ने गाउँपालिकाले जानकारी दिएको छ ।
युद्ध संग्राहलयमा निर्माण हुने संग्राहलय भवनको शिलन्यास भई काम पनि अघि बढाइएको छ । यस वर्ष लगभग एक करोडको लागानिमा दुई तलाको संग्राहलय भवन निर्माण हुने छ । चालु आर्थिक वर्षमा भवन निर्माणको जिम्मा ९५ लाख दुई हजारमा टिनीसा निर्माण सेवा सिस्ने ६ ले लिएको गाउँपालिकाका इन्जिनीयर करण खड्काले जानकारी दिनुभयो ।
जनयुद्धको क्रममा चौकी आक्रमन गरेको ठाँटी डाँडालाई युद्ध पर्यटनको रुपमा विकास गर्ने योजनाअनुसार त्यहाँ डिपिआर गरेर गत वर्षबाटै काम सुरु गरिसकिएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो । सवा पाँच करोडको डिपिआर तीन वर्ष अघि सम्पन्न गरिएको हो । अध्यक्ष बरालकाअनुसार गएको वर्षमा गाउँपालिकाको २४ लाख बजेटले युद्ध संग्राहलय निर्माण गर्ने क्षेत्रमा घेराबारको काम गरिएको थियो ।
अहिले करिब एक करोडको लगानीमा संग्राहलय भवन निर्माण हुँदै छ भने उपभोक्ता समितिमार्फत १२ लाखको लागतमा दुई वटा प्रतिक्षालय निर्माण गरिने छ । अर्को वर्ष युद्ध संग्राहलय निर्माणको काम सम्पन्न गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष बरालले बताउनुभयो । ठाँटी डाँडामा त्यहाँ भएका भग्नावशेषको संरक्षण, सिढी निर्माण, पार्क, प्रतिक्षालय, सेन्ट्रि पोस्ट निर्माण गरिने छ । अध्यक्ष बरालकाअनुसार सहिदहरुको फोटो बनाउनुका साथै बंकरहरुको संरक्षण, जनयुद्धमा प्रयोग भएका हातहतियार, फोटो, लत्ताकपडा, त्यतिबेलाका लेखहरु पनि संग्राहलयमा राखिने छन् ।
यस ठाउँमा २०५७ साल चैत्र २७ गतेका दिन चौकी आक्रमण गरिएको थियो । त्यतिबेला सरकार पक्ष र बिद्रोही पक्षका गरी ४० जना मारिएका थिए । सरकार पक्षका प्रहरी निरीक्षकसहित ३२ जना र विद्रोही अर्थात माओवादी छापामार ८ जनाको ज्यान गएको थियो । जनयुद्धको आधार इलाकामा युद्ध प्रर्यटनको प्रवर्दन गर्ने उदेश्य चौकी आक्रमण भएकै ठाउँमा युद्ध संग्राहलय निर्माण गर्न लागेको गाउँपालिकाले जनाएको छ ।