रविन विश्वकर्मा/रुकुम(पूर्व)


रुकुम(पूर्व) मा वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धि क्रियाशिल गोष्ठी संचालन भएको छ । रेड पाण्डा नेटवर्कको आर्थिक सहयोग र हुरेड कार्स नेपालको आयोजनामा गरिएको दुई दिने गोष्ठी आईतबार देखि सिंस्ने गाउँपालिका ६ छिप्रिदहमा सुरु भएको हो । कार्यक्रममा बोल्दै हुरेड कार्स नेपालका अध्यक्ष दामोदर गौतमले वन्यजन्तु संरक्षण वातावरण संरक्षणको एक प्रमुख आधार भएको बताउनुभएको छ । वन्यजन्तुुको संरक्षण गर्नसके मात्रै वातावरणको संरक्षण हुने भएकाले सबैले वन्यजन्तु संरक्षणमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।

वातावरण जोगाउन वन्यजन्तुको भुमिका महत्वपूर्ण रहेकाले यसको अपराध नियन्त्रणको बारेमा समुदायस्तरमा सचेतना जगाउन जरुरी रहेको भनाई उहाँको थियो । चेतना अभावका कारण पछिल्लो समय वन्यजन्तुुको चोरि निकासी बढेको उल्लेख गर्दै चेतना अभिवृद्धिका लागि ३ तहका सरकारले बिशेष ध्यादिनुपर्ने गौतमले बताउनुभयो । नागरिकलाई वन्यजन्तु अपराध नियन्त्रणको बारेमा बुझाउन आवश्यक रहेको बेलामा आयोजना गरिएको गोष्ठीले वन्यजन्तु अपराध नियन्त्रण गर्न टेवा पुग्ने भनाई गौतमको छ । तालिम अत्यन्तै महत्वपूर्ण रहेकाले सक्रियपूर्वक सहभागी हुन तालिमका सहभागीहरुलाई आग्रह गर्नुभयो ।

स्थानिय तहमा रेड पाण्डा लगाएतका वन्यजन्तुको संरक्षणमा संलग्न सरोकारवालाहरुलाई वन, वातावरण, वन्यजन्तु र यसको अवैध कारोबारबारे अभिमुखिकरण गरी संरक्षणमा सघाउ पुर्याउने उदेश्यका साथ गोष्ठीको आयोजना गरिएको रेड पाण्डा नेटवर्कका स्रोत व्यक्ति शंकरप्रसाद कोईरालाले बताउनुभयो । वन्यजन्तु र वातावरणको संरक्षण गर्न विभिन्न प्रकारका सचेतनामुलक कार्यक्रम गर्दै आएको बताउनुभयो । मानिसको हस्तक्षेपका अर्थात अमानवीय गतिविधिले बाढि, पहिरो, जलवायु परिवर्तन लगाएतका धेरै समस्या निम्तिएको उल्लेख गर्दै सबै भन्दा पहिले यस्ता कृयाकलाप रोक्नुपर्ने उहाँको भनाइ छ ।

स्रोत व्यक्ति कोईरालाले वातावरण प्रभाव मुल्यांकनबिना गरिने विकास निर्माणले वातावरण मासिदै गएको बताउनुभयो । वातावरणलाई सन्तुलन राख्न र वन्यजन्तुको संरक्षण गर्न सामाजिक, आर्थिक, सांस्कृतिक तथा त्यहाँको पारिस्थितीक प्रणालीको अध्ययन तथा अनुसन्धान गरेर मात्रै विकास निर्माण गर्नुपर्ने बताउनुभयो । यसको लागि संघ, प्रदेश र स्थानिय सरकारले नीति तथा कार्यक्रममा समेटेर कार्यान्वयन गर्न अगाडि बढ्न आग्रह गर्नुभयो । साथै वातावरण मैन्त्री यन्त्रहरुको प्रयोग गरेर मात्रै विकासका गतिविधि अगाडि बढाउन सके भावि पुस्ताको भविष्य सुनिश्चित हुने भनाई उहाँको थियो ।

गोष्ठीमा स्रोत व्यक्ति कोईरालाले ४ सेसनमा प्रशिक्षण दिनुहुने छ । गोष्ठी अवधिभर नेपालमा पारिस्थितीक प्रणालीमा परेको नकारात्मक असर र प्रभाव, जैविक विविधता, जलवायु परिवर्तन र प्रभाव, यसको संम्भावित असर, जलवायुजन्य प्रकोपबाट हुने क्षति, यसको न्युनिकरणको उपाय, वन्यजन्तु संरक्षणका लागि नेपालमा गरिएको प्रयास, चुनौती, संरक्षणमा ३ तहका सरकारको भुमिका, नेपालमा संरक्षणको क्षेत्र अवस्था लगाएतको बारेमा जानकारी गराउने प्रशिक्षक कोईरालाले बताउनुभयो ।

हुरेड कार्स नेपालका अध्यक्ष दामोदर गौतमको अध्यक्षतामा सुरु भएको उद्घाटन गोष्ठीमा रेड पाण्डा नेटवर्कका स्रोत व्यक्ति शंकर प्रसाद कोईराला, राष्ट्रिय अनुसन्धान कार्यालयका बरिष्ठ अनुसन्धान सहायक कुमार देवकोटाको आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, वन उपभोक्ता समितिका पदाधिकारी, स्थानीय, सरोकारवाला निकाय लगाएतको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन हुरेड कार्स नेपालका बाल संरक्षण अधिकृत प्रचण्ड मल्लले गर्नुभएको थियो ।