
रुकुम(पूर्व) मा दुई वटा सब स्टेसन निर्माण हुने भएका छन् । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ को रुवाबाङ र भूमे गाउँपालिका वडा नम्बर २ स्थित काँक्रिमा ३३ केभि वितरण लाईन क्षमताको सब स्टेसन निर्माण गर्न लागिएको हो । यी ठाउँमा नेपाल सरकार र यूरोपीयन ईन्भेस्टमेन्ट बैंकको ऋण लगानीमा सब स्टेसन निर्माण गरिने छ ।
काँक्रिको सब स्टेसनमा रोल्पामा निर्माण हुन लागेको सब स्टेसनबाट विद्युत लाइन जोडिने छ भने काँक्रि सब स्टेसनबाट रुवाबाङमा रहेको सब स्टेसनमा विद्युत लाइन जोडिने छ । सब स्टेसन निर्माणको लागि भूमे गाउँपालिका २ काँक्रिमा जग्गा प्राप्त भइसकेको छ भने सिस्ने गाउँपालिकामा जग्गा प्राप्तीको प्रक्रिया चलिरहेको बताइएको छ । यी दुवै ठाउँमा सब स्टेसन निर्माणको लागि प्रती ठाउँ साढे १० रोपनी जग्गा आवश्यक पर्ने छ । दुवै ठाउँमा ३ एम. भि. ए. क्षमताको सब स्टेसन निर्माण गरिने छ । वितरण प्रणाली स्तरोन्नतती तथा विस्तार आयोजना ९म्क्ग्भ्ए० ले नेपालको लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका २३ जिल्लामा ३१ आयोजना निर्माण गर्दै छ ।
तीनै ३१ आयोजना अन्तर्गत मुसिकोट–रुकुमकोट–काँक्रि वितरण लाइन पनि एक उपआयोजना हो । यस उपआयोजनाले सिस्ने र भूमे गाउँपालिकाको विद्युत आपूर्तीमा सुधार आउने अपेक्षा गरिएको छ । यसै योजनालाई अघि बढाउनको लागि नेपाल विद्युत प्राधिकरण काठमाडौंको आयोजनामा एनइए इन्जिनियरिङ्ग लिमिटेड थापाथली काठमाडौंको विज्ञ समुहले सिस्ने र भूमेका संबन्धित निकायसँग नेपालको वातावरणीय तथा सामाजिक व्यवस्थापन योजनाको प्रतिवेदन तयारीको लागि छलफल गरिरहेको छ ।
यस कम्पनीका समाजशास्त्रि कृष्ण कान्त, ऋषिराम बिमली र वातावरण विज्ञ रामप्रसाद ढुङ्गेलले यस आयोजनाबाट प्रभावित हुने क्षेत्रका नागरिक, जग्गाधनी, जनप्रतीनिधी तथा बुद्धिजिविहरुसँग छलफल गर्दै आउनुभएको छ । अहिलेसम्म भएको छलफलमा योजना अघि बढाउन सबै पक्ष सकारात्मक भएको पाइएको समाजशास्त्रि कृष्ण कान्तले बताउनुभएको छ । अझै जिल्लामा दुईतीन दिन रहेर अन्य सरोकारुवाला निकायसँग पनि छलफल गर्ने उहाँले बताउनुभयो । समाजशास्त्रि कान्तकाअनुसार यसरी छलफल तथा स्थलगत अध्यनपछि तयार पारिएको प्रतिवेदन प्राधिकरणलाई बुझाउने र प्राधिकरणले यूरोपीयन ईन्भेस्टमेन्ट बैंकलाई बुझाएपछि टेन्डर प्रक्रियामा जाने छ ।
यस आयोजना निर्माणको क्रममा सिस्ने गाउँपालिकाको ५ नम्बर वडा, भूमे गाउँपालिकाको २, ३,४, ६ र ८ नम्बर वडालाई प्रभाव पर्ने छ । यी ठाउँका जनप्रतीनिधी र नागरिकसँग छलफल गर्ने क्रममा सबै निकै उत्साहित भएको पाइएको र कामलाई छिटो अघि बढाउन सल्लाह सुझाव आएको पनि विज्ञ समुहले बताएको छ । जिल्लामा अहिलेसम्म कुनै पनि ठाउँमा सब स्टेसन निर्माण गरिएको छैन् । सब स्टेसन निर्माण भएमा सिस्ने र भूमे गाउँपालिकाका विभिन्न ठाउँमा देखिएको विद्युत सेवा अनियमित हुने समस्याको अन्त्य हुने अपेक्षा गरिएको छ ।
जिल्लामा विभिन्न विद्युत आयोजना पनि निर्मानाधिन अवस्थामा छन् । सब स्टेसन निर्माणले तीनै आयोजनालाई पनि सहयोग पुग्ने सिस्ने गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष शान्तेबहादुर विकले बताउनुभयो ।