
रुकुम(पूर्व) मा यहि चैत्र २५ गतेदेखि ३० गतेसम्म टाइफाईट बिरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । देशव्यापी रुपमा चैत्र २५ देखि बैशाख १८ गतेसम्म सञ्चालन हुन लागेको यो अभियान रुकुम(पूर्व)मा चैत्र २५ बाट ३० गतेसम्म चल्ने स्वास्थ्य कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ । जिल्लामा एक सय ४८ वटा खोप केन्द्रबाट टाइफाईड बिरुद्धको खोप लागाइने छ । जिल्लाको साविकको गाविसको वडा कार्याल क्षेत्रभित्र पर्ने विद्यालयलाई खोप केन्द्र तोकिएको स्वास्थ्य कार्यालयका कोल्ड चेन निरीक्षक मनोज श्रेष्ठले जानकारी दिनुभयो ।
रुकुम(पूर्व) को साविकका १६ वटा गाविसहरुका एक सय ४४ वटा वडाहरुमा एकएक वटा र भौगोलिक विकटतालाई मध्यनजर गर्दै ४ वटा खोपकेन्द्र थप गरि तोकिएको उहाँले बताउनुभयो । उहाँकाअनुसार पुथाउत्तरगंगा गाउँपालिकामा ६१, भूमे गाउँपालिकामा ४६ र सिस्ने गाउँपालिकामा ४१ वटा खोपकेन्द्र तोकिएको छ । यस खोप अभियानमा पुथाउत्तरगंगा गाउँपालिकामा एक सय २२ जना, भूमे गाउँपालिकामा ९२ जना र सिस्ने गाउँपालिकामा ८२ जना गरी २ सय ९६ जना स्वयमसेवक खटिने छन् ।
जिल्लामा टाईफाईड बिरुद्धको खोप लगाउने लक्षित १५ महिनादेखि १५ वर्षसम्मको जनसंख्या १८ हजार ४ सय १८ रहेको छ । यसै खोप अभियानलाई सफल पार्नको लागि स्वास्थ्य कार्यालय रुकुम(पूर्व) ले टाइफाईड रोग बिरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाईड खोपको सुरुवात सम्बन्धि स्वास्थ्यकर्मीहरुको लागि एक दिने अभिमुखिकरण तालिम पनि प्रदान गरेको छ । स्वास्थ्य कार्यालय रुकुम(पूर्व) का अनुसार टाईफाईड बिरुद्धको खोप लागाउने उमेर समुहको बालबालिकाको संख्या लुम्बिनी प्रदेशमा करिब १० लाख ५२ हजार र देशभर करिब ७५ लाखको हारहारीमा रहेको छ ।
तालिममा तीन वटै गाउँपालिकाका स्वास्थ्य संस्था र सामुदायिक स्वास्थ्य इकाईका स्वास्थ्यकर्मिहरु सहभागी थिए । उनिहरुलाई टाइफाइड रोग बिरुद्धको खोप लगाउने तरिका, खोप केन्द्र, लगाउने मितिलगाएतको बारेमा जानकारी गराइएको कोल्ड चेन निरीक्षक श्रेष्ठले बताउनुभएको छ ।
अभिमुखिकरण कार्यक्रममा बोल्दै सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले टाईफाईड बिरुद्धको खोप अभियानले यस रोगबाट निम्तिनै विभिन्न समस्याहरुको अन्त्य हुने बताउनुभएको छ । मानिसले खानपान, सरसफईमा ध्यान नदिदा विभिन्न खालका रोगहरु निम्तिने गरेको बताउदै अध्यक्ष बरालले यतातीर पनि ध्यान दिन सबैलाई आग्रह गर्नुभयो । पछिल्लो समयमा मानिसहरुले अखाद्य चिजहरु बढी प्रयोग गर्ने र धेरै नै सुविधाभोगी भएकाले पनि रोगले मानिसहरुलाई सताउने गरेको अध्यक्ष बरालले बताउनुभयो ।
सरकारले अभियानको रुपमा सुरु गर्न लागेको यस कार्यक्रमलाई सफल बनाउनको लागि सबै आ–आफ्नो ठाउँबाट लाग्न आग्रह गर्नुभएको छ । यस्तै स्वास्थ्यको क्षेत्रमा पनि गाउँपालिकाले विभिन्न उदाहरणीय कामहरु गर्दै आएको बताउनुभभयो । सबै आ–आफ्नो ठाउँ ठाउँबाट सक्रिय रुपमा लाग्न सके सरकारको लक्षलाई सफल बनाउन सकिने अध्यक्ष बरालले बताउनुभयो । यसमा स्थानीय सरकारले पनि आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्ति गर्नुभयो ।
स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख एवम् जनस्वास्थ्य निरिक्षक यादवप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालको प्रमुख र गाउँपालिका उपाध्यक्ष गोबरधन बुढाको विशेष आतीथ्यता रहेको थियो । स्वास्थ्य कार्यालयका ल्याब टेक्निसीयन निमप्रसाद गरिको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन वरिष्ठ मलेरिया इनिस्पेक्टर अनुराधा झाले गर्नुभएको थियो ।